लुको उच्चस्तरीय राजनीतिक भेटवार्ता आज

काठमाडौँ । नेपालको तीन दिने भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज (शुक्रबार) उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भएका छन् । उनले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यतालिका छ ।
यसअघि हिजो साँझ लुले अमेरिकी विदेशमन्त्रीद्वारा वार्षिक रूपमा प्रदान गरिने ‘अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई प्रदान गरेका थिए । लुले बिहीबारै व्यापारी, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग भेटघाट गरेका छन् ।
यस्तै लुले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण र अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे नेपालको धारणा पनि बुझ्ने बताइएको छ । सहायक विदेशमन्त्री लु भारत हुँदै काठमाडौं आएका हुन् । यस क्षेत्रको नियमित भ्रमणको सिलसिलामा लु नेपाल आइपुगेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।
लु गत मंसिरमा पनि नेपाल आएका थिए । नेपाल सरकारले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको एक महिनापछि लु काठमाडौं आएका हुन् । सरकारले गत असार ६ मा एसपीपी अघि नबढाउने निणर्य गरे पनि अमेरिकालाई पत्राचार गरेको छैन ।
लुले गत मंसिरमा नेपाल आउँदा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्बाट अनुमोदन भएको थिएन । उनी उक्त भ्रमणका दौरान एमसीसी सम्झौतालाई अघि बढाउन नेपालको राजनीतिक र कूटनीतिक तहमा संवाद गरेर फर्केका थिए । नेपालले फागुन १५ मा सम्झौता अनुमोदन गरिसकेको छ ।