जिल्ला ट्राफिकद्वारा ७० लाख राजस्व सङ्कलन


१३ श्रावण २०७९, शुक्रबार
money
फाइल फोटो

बागलुङ । जिल्ला ट्राफिक कार्यालय बागलुङले आर्थिक वर्ष २०७८/७९ मा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गरी रु ७० लाख राजस्व सङ्कलन गरेको छ ।

जिल्ला ट्राफिक कार्यालयका अनुसार गत आवमा ११ हजार पाँच सय ५० सवारीसाधनका चालकलाई कारबाही गरिएको थियो । ट्रक, टिपर, बस, कार, जीप, ट्र्याक्टर र मोटरसाइकल नियमविपरीत सञ्चालनमा आएको पाइएकामा ट्राफिक प्रहरीले कारबाही गरेर उक्त राजस्व सङ्कलन गरेको ट्राफिक कार्यालय प्रमुख राजकुमार केसीले जानकारी दिए ।

प्रहरीले जथाभावी सवारीसाधन चलाउने, सवारीसाधनमा अनावश्यक स्टिकर टाँस्ने, सवारीसाधान सजावट गर्ने तथा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउनेलाई कारबाही गरेको हो । कारबाहीका कारण विस्तारै सडक दुर्घटनामा कमी आएको केसीले बताए ।

आव २०७६/७७ मा आठ हजार आठ सय सवारीसाधनका चालकलाई कारबाही गरी रु ५२ लाख तथा आव २०७७/७८ मा १२ हजार एक सय सवारीसाधनका चालकलाई कारबाही गरी रु ६७ लाख ७३ हजार राजस्व सङ्कलन गरिएको थियो । ‘कारबाहीको संख्या र राजस्वमा वृद्धि भएको छ’, उनले भने । जिल्लामा गत आवमा सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो भने २१ जना गम्भीर घाइते भएको ट्राफिक कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७