आज विश्व बाघ दिवस, बाघको संख्या सार्वजनिक गरिँदै


२०७९ श्रावण १३ शुक्रबार ०७:०७ बजे

काठमाडौँ । आज (शुक्रबार) विश्व बाघ दिवस । ‘स्वस्थ पारिस्थितिक प्रणालीका लागि बाघ संरक्षण’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसर पारेर आज नेपालमा बाघको संख्या र अवस्था सार्वजनिक गरिँदैछ ।

दिउँसो ३ बजे बाघको संख्या र अवस्थाबारेको प्रतिवेदन सार्वजनिक गर्ने तयारी भएको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले जानकारी दिएका छन् । नेपालले गएको मंसिरदेखि फागुनसम्म बाघ गणना गरेको थियो ।

नेपालले झण्डै एक दशकअघि रूसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनमा सन् २०२२ भित्र नेपालमा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो । सन् २००९ मा भएको गणना अनुसार नेपालमा बाघको संख्या १२१ थियो ।
सन् २०१८ मा नेपालमा बाघको संख्या २३५ पुगेकाले प्रतिबद्धता पूरा हुने अनुमान छ ।

बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ तारिखलाई बाघ दिवसका रुपमा मनाइन्छ । बाघलाई संसारभर प्रतिकात्मक प्राणीको रूपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाको रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूणर् मानिन्छ ।

दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा बाघको संख्या बढेसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न बाघ विचरण गर्ने वन क्षेत्रको विस्तार, बाघका लागि आवश्यक आहारा हुने वन्यजन्तुको संख्या बढाउनु पर्नेमा जोड दिएकी छन् । उनले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायमा सचेतना अभिवृद्धिका साथै वैकल्पिक जीविकोपार्जनका उपायको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षले ध्यान पुर्‍याउनु पर्ने बताएकी छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७