पहिरोले विस्थापित, बस्ती जोखिममा


१३ श्रावण २०७९, शुक्रबार
pahiro parbat 2
फाइल फोटो

पर्वत । केही दिनदेखिको वर्षापछि खसेको पहिरोले पर्वतको कुश्मा नगरपालिका-१० पिपलटारीका चार परिवार पूणर्रुपमा विस्थापित बनेका छन् । पहिरोले करिब ६० परिवार रहेको बस्ती जोखिममा परेको छ ।

पिपलटारीको सिमखेतस्थित बस्तीमाथिको फाँटबाट पहिरो खसेपछि आसपासका बासिन्दा समेत त्रसित बनेका छन् । करिब दुई सय मिटरमाथिबाट बग्न सुरु गरेको पहिरो बस्तीसम्मै आइपुगेपछि चार परिवारले घरै छाडेका वडाध्यक्ष रामचन्द्र सुवेदीले जानकारी दिए । स्थानीय कृष्ण सुवेदी, होमनाथ शर्मा, जगत् सुवेदी र रघुनाथ सुवेदीका परिवार पहिरोले पुरिने डरले घर छोडेर छिमेकीकोमा शरण लिइरहेका छन् ।

त्यस्तै आसपासका ६४ परिवार रहेको बस्ती पहिरोको प्रत्यक्ष जोखिममा छ । पहिरोका कारण गाउँमा वितरित विद्युतका पोल समेत ढल्न थालेपछि स्थानीयले विद्युत् प्राधिकरणको कुश्मा वितरण केन्द्रलाई जानकारी गराएका छन । दुई वर्षअघिदेखि खेतको फाँटमा धाँजा फाटेको र गत सोमबारदेखि परेको वर्षापछि खेतसहित पहिरो बगेर बस्तीमा खस्न थालेको स्थानीय शङ्कर सुवेदीले बताए ।

विद्युतको तार घरमा आएर करेन्ट लाग्ने हो भन्ने त्रासले राति घरमा बस्न नसकिएको उनले बताए । पहिरोले १२ रोपनी जग्गा समेत बगाइसकेको छ । स्थानीय खिमनाथ सुवेदीले धान खेत समेत बगाएपछि कहाँ बस्ने र के खाने भन्ने चिन्ताले सताएको बताए । ‘अघिल्ला वर्षमै धाँजा फाटेको थियो’, वडाध्यक्ष रामचन्द्र सुवेदीले भने, ‘अहिले वरपरको थुप्रै खेतसहित बस्ती नै बगाउने गरी खसेको छ । अब तत्काल रोकथाम नगरे यो बस्तीका ६०-६५ परिवार विस्थापित हुनुपर्नेछ ।’ नगरपालिका हुँदै प्रदेश र केन्द्रसम्म समस्या समाधानका लागि पहल गर्न स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन् ।

pahiro parbat 1

पहिरोले बस्ती नै बग्न थालेको जानकारीपछि कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजाल, इन्जिनियरद्वय शिवप्रसाद बराल र सञ्जय लामिछाने, विद्युत् प्राधिकरणको कुश्मा वितरण प्रमुख शिवनारायण गोशली, भू तथा जलाधार व्यवस्थापन कार्यालयका इन्जिनियर विकास थापालगायतको टोलीले पहिरोग्रस्त क्षेत्रको अनुगमन गरेको छ ।

अनुगमनपश्चात् प्राविधिक टोलीले तत्काल नियन्त्रणको प्रयास थाल्नुपर्ने निष्कर्ष निकालेको छ । त्यसका लागि भू तथा जलाधार कार्यालयले ग्याभियन जाली तथा अन्य अस्थायी रोकथामका काम सुरु गर्ने जनाएको छ । विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रका प्रमुख गोशलीले बस्तीमा जोखिम भएको विद्युतका पोल फेर्न सुरु भइसकेको जानकारी दिए ।

‘पहिरो खसेको स्थानमा तीन पोल जोखिममा छन् । एउटा पहिरोले बगाएर तल खसालेको छ’, उनले भने, ‘बाँकी दुई हटाउनु पर्नेछ ।’ गत वर्ष जस्तो ठूलो वर्षा नभए पनि जोखिमयुक्त बस्तीका नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७