बीमाको साढे दुई करोड हत्याउन नक्कली विहे गरेर युवकको हत्या, ६ जना पक्राउ


२०७९ श्रावण १३ शुक्रबार ०७:०६ बजे

काठमाडौँ । बीमाको पैसा हत्याउनका लागि एक युवकको हत्या भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज (शुक्रबार) पत्रकार सम्मेलन गरी बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको हत्या र हत्यापश्चात् दुई करोड ५० लाख रुपैयाँको बीमा असुल गरिएपछि बीमाको पैसा लिनका लागि हत्या गरिएको रहस्य खुलाएको हो ।

प्रहरीले बिकको हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके कोहलपुर-२ का २१ वर्षीय सपना मल्ल, स्याङ्जा वालिङ-६ घर भई हाल बाँकेको कोहलपुर-११ बस्ने ३१ वर्षीय सञ्जीव अर्याल, कोहलपुर-१५ का ३२ वर्षीय सरदार अहमद खाँ, बाँकेकै बैजनाथ गाउँपालिका-८ बस्ने ३३ वर्षीय टोपबहादुर राना क्षेत्री, दीपक केसी र ललिता सापकोटा छन् ।

अनुसन्धान ब्यूरोले शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो । प्रहरीले उनीहरुविरूद्ध सङ्गठित अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

यो गिरोहले गरिब परिवारका एक युवकलाई डिपेण्डेण्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै नक्कली विवाह गराई २ करोड ५० लाख रुपैयाँको बीमा समेत गराएको पाइएको छ । नक्कली विवाह गरी इच्छाइएको व्यक्तिको नाममा नक्कली श्रीमतीको नाम राखी बैंक खाता खोलिएको र बीमा गराइएको पाइएको छ ।

वार्षिक आम्दानी २ लाख मात्रै भएका युवकको २ करोड ५० लाख रुपैयाँ बराबरको बीमा गराइएको र ती युवकलाई योजनामै हत्या गरिएको पाइएको छ । हत्यापछि इन्सुरेन्सबाट आएको पैसा गिरोहका सदस्यहरूले बाँडेर लिएको पाइएको छ ।

यसरी खुल्यो हत्याको रहस्य

२ करोड ५० लाख रुपैयाँ बराबरको इन्सुरेन्स गराइएका सर्जन बिकको २०७८ वैशाख २ गते बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भयो । मोटरसाइकल चलाउने लाइसेन्स समेत नभएका बिकलाई टोपबहादुर राना क्षेत्री भन्ने व्यक्तिले चलाएको मिनिबसले ठक्कर दिएपछि बिकको मृत्यु भएको थियो ।

सवारी दुर्घटनामा युवकको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट सवारी ज्यान मुद्दा चलाइएकामा २०७८ माघ २५ मा फैसला हुँदा रानालाई एक महिना कैद र २ हजार रुपैयाँ जरिवाना गरी छाडिएको थियो । मुद्दा सकिए लगत्तै प्रहरी प्रतिवेदनका आधारमा मृत्यु दर्ता, दुर्घटनाको प्रमाण आदि पेस गरी गिरोहले रिलायन्स इन्सुरेन्सबाट २ करोड ५० लाख रुपैयाँ भुक्तानी लिएका थिए ।

मृतकको नजिकको हकवालाका रूपमा श्रीमती बनाइएकी सपना मल्लको बैंक खातामा इन्सुरेन्स कम्पनीले २ करोड ५० लाख रुपैयाँ भुक्तानी दिएको थियो । उक्त रकममध्ये मुख्या योजनाकार सञ्जीव अर्यालले ८० लाख २६ हजार रुपैयाँ, दीपक केसीले ६० लाख छवि कुमारी खत्री नाम गरेकी सपना मल्लकी आमाले १७ लाख ४६ हजार रुपैयाँ लिएको पाइएको छ । त्यसैगरी चालकले समेत रकम लिएको र बाँकी रकम सपना आफैले राखेको प्रहरीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७