प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता


१३ श्रावण २०७९, शुक्रबार
de 1

काठमाडौँ । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । लुले प्रधानमन्त्री देउवासँग सरकारी निवास बालुवाटार पुगेर भेटवार्ता गरेका हुन् ।

त्यसअघि लुले शुक्रबार नै परराष्ट्र मन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गरेका थिए । उनीहरुबीच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री देउवाले ट्वीट गर्दै उक्त भेटवार्तामा नेपाल-अमेरिका मैत्रीपूर्ण र सहयोगी सम्बन्धका बारेमा विचार आदानप्रदान भएको उल्लेख गरेका छन् । ‘म अमेरिकाको निरन्तर विकास सहयोगको लागि धन्यवाद दिन्छु र उच्चस्तरको आर्थिक संलग्नताको अपेक्षा गर्दछु,’ उनले भने ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार दुवै भेटवार्तामा अमेरिका र नेपाल बीचको सम्बन्धमा विषयमा छलफल भएको छ । दूतावासले अमेरिका-नेपाल ७५ वर्षको साझेदारी र जनता-जनताबीचको सुमधुर सम्बन्धलगायतका विषयमा छलफल भएको जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार खड्कासँगको भेटवार्तामा दुवै पक्षले विकास सहयोग, आर्थिक सहयोग, खाद्य सुरक्षा र कोभिड-१९ विरुद्धको खोप लगायतका विभिन्न क्षेत्रमा छलफल गरे । लु तीन दिने भ्रमणको लागि नेपाल आएका हुन् । लु दक्षिण तथा मध्य एसिया मामिलाको सहायक विदेश मन्त्री हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७