बोल्न-सुन्न नसक्ने युवतीसँग ‘प्रेम’, विवाह प्रस्ताव राखेपछि करणी गरी हत्या


१३ श्रावण २०७९, शुक्रबार
crime

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका- १ कुन्छाकी एक २८ वर्षीया युवतीको करणीपछि हत्या भएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा स्थानीय २४ वर्षीय राम सुनारलाई पक्राउ गरेको छ ।

साउन १० गते मंगलबार साँझदेखि बेपत्ता लीला अछामीको बिहीबार दिउँसो खड्केपानीस्थित सामुदायिक वनमा शव भेटिएको थियो । बोल्न नसक्ने र कान पनि नसुन्ने अछामी लेख्न र सांकेतिक भाषामा कुरा गर्थिन् । मंगलबार ४ बजेतिर घ रनजिकै रहेको दिदीको घर गएर साँझ ६ बजेतिर दिदीको घरबाट निस्केकी उनी अबेरसम्म घर नपुगेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा घाउचोट लागेको अवस्थामा जंगलको खोल्सामा युवतीको शव फेला परेको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले जानकारी दिएका छन् । उनका अनुसार घटना सम्बन्धमा अनुसन्धान गर्दा सोही स्थानका सुनार र अछामीबीच विगत केही महिनादेखि प्रेम सम्बन्ध रहेको पाइएको छ ।

अछामी र आरोपित सुनारबीच नियमित जस्तै भिडियो कलमार्फत कुरा हुने गरेको अनुसन्धानमा देखिएको छ । विदेशबाट फर्किएर गत असारमा मात्रै विवाह गरेका आरोपित सुनारले सोही दिन अछामीलाई एसएमएस र भिडियो कल गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले बताएको छ । सुनारले मंगलबार राति भेट्न बोलाई युवतीसँग शारीरिक सम्बन्ध राखेका थिए । शारीरिक सम्बन्धपछि युवतीले आफूसँग विवाह गर्न भनेपछि सुनारले हत्या गरेका अनुसन्धानबाट देखिएको छ ।

आफू विवाहित भएकाले आफूहरूको सम्बन्धबारे समाजमा हल्ला हुने डरले सुनारले अछामीको घाँटी च्यापेर लडाएका थिए । तल भिरको खोंचमा पल्टाएर ढुंगाले टाउकोमा प्रहार गरी निर्मम तरिकाले हत्या गरेका प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अभियुक्त सुनारले मृतकको मोबाइल तथा गरगहनाहरू समेत घरमा लुकाइछिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ । लीलाको शवकोे जिल्ला अस्पताल लमजुङमा पोस्टमार्टमपश्चात् दाहसंस्कारका लागि आफन्तले जिम्मा लिएका छन् । घटनामा संलग्न अभियुक्त सुनारलाई बिहीबार पक्राउ गरी लमजुङ जिल्ला अदालतबाट शुक्रबार म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७