समाजवादी केन्द्र तत्काल बन्नेवाला छैन : प्रचण्ड

‘अहिलेकै गठबन्धनले शान्ति प्रक्रिया टुङ्गो लगाउँछ’


१३ श्रावण २०७९, शुक्रबार
prachanda 5 scaled

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऐतिहासिक आवश्यकताले संविधान र राष्ट्रको रक्षाका लागि बनेको गठबन्धन कायम रहने बताएका छन् । उनले अहिले चर्चामा आएको समाजवादी केन्द्र तत्काल बन्ने सम्भावना नरहेको बताएका छन् ।

प्रेस सेन्टरद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले गठबन्धनको विषयमा कुनै द्विविधा नपाल्न आग्रह गरे । प्रचण्डले भने, ‘यो गठबन्धन टुटेर अर्को बन्छ कि भन्ने भ्रमबाट मुक्त हुनुहोला । यही गठबन्धनबाट शान्ति प्रक्रिया टुंग्याउने हो ।’

उनले स्थानीय चुनावको अनुभव भने त्यति मीठो नभएको बताएका छन् । ‘नेपाली कांग्रेस शक्तिको हिसाबले अलिकति ठूलो छ । त्यसैले स्वतः नेतृत्व कांग्रेसको हुने भयो । तर, लोकल इलेक्सनको अनुभव त्यति धेरै मीठो भएको छैन । प्रदेश र संघमा त्यसबाट शिक्षा लिएर राम्रो तयारीका साथ जानुपर्छ ।’

उनले गठबन्धनभित्र सबैलाई फाइदा हुने गरी जानुपर्नेमा जोड दिए । खासगरी ठूलो पार्टीको नाताले नेपाली कांग्रेस उद्धार र जिम्मेवार हुनुपर्ने उनले बताएका छन् । उनले भने, ‘हामी सबैको तागतले यो सरकार बनेको हो । त्यसैले कसैले पनि एकलौटी गर्न खोज्नु हुँदैन ।’ उनले गठबन्धनमा रहेका वामपन्थीहरुबीच एउटै चिन्ह र घोषणापत्र लिएर चुनावमा जाने विषयमा छलफल भइरहेको बताए । तर, समाजवादी केन्द्र बनाइहाल्ने सम्भावना नरहेको उनले प्रष्ट पारे ।

‘तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन । समाजवादी केन्द्र बनाइहालौं भनेर छलफल पनि गरेका छैनौं । केही साथीहरुले कुरा उठाउनु भएको हो । तर, हाम्रो बैठकमा कुरा भएको होइन’, प्रचण्डले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७