मन्त्री चौधरीले गरे दमकको १८ तले भ्युटावर निरीक्षण, नाम फेर्न दिए निर्देशन


१३ श्रावण २०७९, शुक्रबार
tower visit metmani2022 07 29 05 58 05

झापा । शहरी विकासमन्त्री मेटमणि चौधरीले मन्त्रालयअन्तर्गत निर्माण भइरहेका झापाका विभिन्न आयोजनाको निरीक्षण गरेका छन् । सोही क्रममा उनले दमक-३ मा बन्दै गरेको १८ तले भ्युटावरको अनुगम गर्दै भ्युटावरको नाम परिवर्तन गर्न निर्देशन दिएका छन् । अहिले सो भ्युटावरलाई दमक भ्युटावर भनिँदै आइएको छ ।

‘भ्युटावरको नाम परिवर्तन गर्न भनेको छु । यो बिजनेस कम्प्लेक्स हो । माथि चढेर हेर्ने भ्युटावर मात्र हैन, बिजनेसका लागि बिल्डिङ बनेको हो,’ उनले भने, ‘यसको नाम स्थानीयको मनोविज्ञानका आधारमा राख्नु पर्छ । दमक नगर उपप्रमुख ज्यू (रेगिना भट्टराई) लाई नामाङ्कनका लागि सुझाव पठाउन भनेको छु ।’

दमक-३ टुकुरे नजिकमा धमाधम भ्युटावर बन्दै छ । तर, यस क्षेत्रका स्थानीय कच्ची सडकमा हिँड्न बाध्य छन् । शुद्ध पिउने पानीसमेत नभएको ठाउँमा विकासको नाममा भ्युटावर बाहेक केही नरहेको अवस्थामा मन्त्री चौधरीले यस्तो निर्देशन गरेका हुन् । उनले भ्युटावरलाई जोड्ने विकासका काम पनि अघि बढाइने बताएका छन् । ‘भ्युटावरलाई सपोर्ट गर्ने रोड बन्नुपर्छ । यसलाई लिंक गर्ने भौतिक निर्माणका काम पनि गर्नुपर्छ,’ मन्त्री चौधरीले भने ।

उक्त भ्युटावर निर्माण कार्य ६३ प्रतिशत सकिएको छ । भ्युटावर निर्माणका लागि चिनियाँ कम्पनी जेडसिजिआइइसी, आशिष र ओम साइराम जेभीले २७ असार ०७६ मा एक अर्ब ५६ करोड १४ लाख ३९ हजार एक सय ६४ रुपैयाँमा ठेक्का लिएका थिए । ठेक्का लाग्दा ०७८ पुस मसान्तभित्र निर्माण सम्पन्न गर्ने सहमति भएको थियो । पछि ०७९ असार मसान्तसम्म समय मागिए पनि काम नसकिएपछि पुनः एक वर्षका लागि थप समय मागिएको निर्माण कम्पनी इन्जिनियर सर्जल बिडारीले जानकारी दिए । ‘कोभिडका कारण पनि समयमा काम गर्न सकिएन । त्यसपछि चुनावमा पनि काम गर्ने मान्छे भेटेनौँ,’ उनले भने, ‘अब एक वर्षमा चाहिँ काम सक्छौँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७