नेपालबाट विदेश निर्यात हुने सुपारीको ‘डीएनए’ परीक्षण गर्नुपर्ने


१३ श्रावण २०७९, शुक्रबार
supari

काठमाडौँ । नेपालबाट विदेश निर्यात हुने सुपारीको डीएनए परीक्षण गर्नुपर्ने भएको छ । आज (शुक्रबार) को राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकले सुपारी र उत्पादन भएको ठाउँ परीक्षण गर्न निर्देशन दिएको हो । समितिले आजको बैठकमा छलफलपछि सुपारीको डीएनए परीक्षण गरेर मात्र आयात, निर्यात गर्न निर्देशन दिएको छ ।

विदेशबाट अवैध रूपमा नेपाल भित्रिएको सुपारी पुनः विदेश पठाउँदा नेपालमा उत्पादन भएको उत्पत्तिको प्रमाणपत्र भेटिन थालेपछि सरकारले नै चासो देखाएको हो । पछिल्लो समय निर्यात गर्न पाएको इजाजत भन्दा बढी परिमाणमा सुपारी विदेश निर्यात हुन थालेको गुनासो बढ्दै गएपछि समितिले चासो बढाएको हो ।
बैठकमा भन्सार विभागका प्रमुख कमलप्रसाद भट्टराईले स्थानीय कृषि ज्ञान र नेपाल उद्योग वाणिज्य सङ्घले उत्पात्तिको प्रमाणसहित सिफारिस गरेपछि सामान्य प्रक्रिया पुर्‍याएर निर्यात गर्न दिने गरेको बताएका छन् ।

केही दिनअघि विराटनगर भन्सारबाट भारत निकासी भइरहेको सुपारी बोकेको ट्रकलाई नेपाल प्रहरीले रोकेर फिर्ता ल्याइ अनुसन्धान गरिरहेको छ । प्रहरीले अवैध भएको आशंकामा नियन्त्रणमा लिएको सुपारीबारे राजनीतिक दलका शीर्ष नेता तहमा समेत सम्बन्ध जोड्न थालिएको छ ।

समितिको बैठकमा अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुष्करले अर्थ मन्त्रालय र भन्सार विभागले व्यापार सहजीकरणमा मात्र जोडिने भएकाले सबै दायित्व नहुने बताएका छन् । सुपारीको उत्पादन व्यापार व्यवसायबारे अध्ययन भइरहेकाले त्यसको स्थानीय राजनीतिक कारण पनि खोज्नुपर्ने सचिव पुष्करले बताएका छन् ।

त्यस्तै बैठकमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले विराटनगर भन्सार नजिक नियन्त्रणमा लिइएको सुपारी अनुसन्धानको क्रममा रहेको बताएका छन् । पक्राउ परेको सुपारी बोकेको ट्रकमा भारतीय भन्सारको सिल लागेको जानकारी दिए । उनले यसरी नेपालबाट भारततर्फ जाने मालवाहक गाडीमा नेपालको भन्सारको सिल लाग्नुपर्नेमा भारत भन्सारको पाइएकाले शंका उब्जाएको र अनुसन्धानको विषय बनेको बताएका छन् ।
बैठकमा सांसदहरूले नेपालमा आयात र निर्यात हुने सुपारीको विषयमा गहन अध्ययन हुन आवश्यक रहेको बताएका छन् । सांसदहरूले सुपारीमा राजनीतिक र अन्य सम्बन्ध खोज्न आवश्यक रहेको पनि बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७