जनार्दनको दोष थिएन, नखाएको बिख लाग्दैन : प्रचण्ड


१३ श्रावण २०७९, शुक्रबार
prachanda 4

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल एमालेले अनावश्यक लफडा निकाले पनि पूर्व अर्थमन्त्री निर्दोष सावित भएको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नखाएको विष नलाग्ने भन्दै अर्थमन्त्री र अर्थ मन्त्रालयले कुनै गल्ती नगरेका कारण छानविन समितिले निर्दोष सावित गरेको दावी गरे ।

उनले ओली सरकारले एसपीपी सम्झौता गरेको कुरा पेरिसडाँडाबाट आफूले पहिलो पटक सार्वजनिक गरेको र तत्काल सम्झौता तोड्न बालुवाटारमा गएर प्रधानमन्त्रीलाई भनेको बताए । माओवादी केन्द्रकै पहलमा आज नै एसपीपी सम्झौतामा नेपाल सहभागी हुँदैन भन्ने चिठी अमेरिका पठाएको प्रचण्डले बताए । एसपीपी सम्झौता गरेको खुलासा गरेपछि केही मान्छेहरूको टाउको दुखेको र उनीहरुले अर्थमन्त्रीले करको दर हेरफेर गरेको भनेर अनेक लफडा झिकेको उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले भने, ‘करको दर हेरफेर गरेको आरोप लगाएर कारवाही गर्नुपर्छ भनेर धेरै प्रचारवाजी गरियो । मैले नै अध्यक्षको हैसियतले खाएको विष पो लाग्छ नखाएको लाग्दैन नि भनेर संसदीय छानविन समिति नै सहि भनेर छानविन समिति बनाउन भनेँ । समितिले आवश्यक पर्ने समय पनि लियो । ७ दिन समय पनि थपियो, आज समितिले प्रतिवेदन बुझायो, उहाँ निर्दोष सावित हुनुभएको छ, केही प्रमाण छैन्, निर्दोष रहेको प्रमाणित भयो । अर्थमन्त्री र अर्थमन्त्रालयको कुनै गल्ती भएको छैन् भन्ने छानविन समितिको रिपोर्ट आएको छ ।’ प्रचण्डले यी विषयहरुलाई जनताको बीचमा लैजान आग्रह गरे ।

उनले संविधानको रक्षा, गणतन्त्रको रक्षा र देशको आवश्यकताले गठबन्धन बनाएको भन्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पछिसम्म अहिलेको गठबन्धन कायम रहने बताए । यहि गठबन्धनबाट निर्वाचनमा जाने र शान्ति प्रक्रिया टुङ्ग्याउने उनको भनाई छ । अध्यक्ष प्रचण्डले चुनावअघि तत्काल समाजवादी केन्द्र नबन्ने समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७