एसपीपी पास गर्न अमेरिकाको दबाब छैन : मन्त्री श्रेष्ठ


१३ श्रावण २०७९, शुक्रबार
Rajendra shrestha

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले एसपीपी पास गराउन अमेरिकाले नेपाललाई कुनै दबाब नदिएको बताएका छन् । आज (शुक्रबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले विदेशी कुटनीतिज्ञहरुको भ्रमण हुनुलाई स्वभाविक प्रक्रियाको रुपमा लिन आग्रह गरे ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूको दोस्रो पटकको नेपाल भ्रमणबारे सञ्चारकर्मीहरुको प्रश्नको उत्तर दिँदै उनले विदेशी कुटनीतिज्ञहरु आउँदा शंका गर्ने नभइ भ्रमणलाई देशको सुशासन, समृद्धि र विकाससँग जोड्ने कुरामा जोड दिनुपर्ने बताए । उनले गठबन्धन आगामी निर्वाचनसम्म नै रहने दाबी गर्दै तत्काल एमालेसँग गठबन्धन गरेर चुनावमा जाने कुनै योजना नरहेको उल्लेख गरे ।

मन्त्री श्रेष्ठले संघीय निजमति ऐनलाई मन्त्रालयले अघि बढाएको बताएका छन् । उनले मन्त्रालयले संघीय मामिला प्रशिक्षण प्रतिष्ठान भनेर अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण प्रतिष्ठान बनाउन लागेको र त्यहाँ संघीयताबारे अध्ययन अनुसन्धान गर्ने बताए ।

उनले सबै क्षेत्रमा संघीय मामिला सम्बन्धी कामलाई व्यवस्थित रुपमा अघि बढाएका उल्लेख गर्दै कर्मचारीतन्त्रलाई नयाँ ढंगले पुनर्संरचना गर्दै कर्मचारीमैत्री ऐनको व्यवस्था गर्ने घोषणा गरे । मन्त्री श्रेष्ठले पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईप्रति इशारा गर्दै पार्टीबाट फुटेर नयाँ पार्टी दर्ता गर्नुको कुनै औचित्य नरहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७