एनआईसी एशिया बैंकद्वारा क्यास डिपोजिट सेवाको शुभारम्भ, अब नगद रकम मेसिनबाटै जम्मा गर्न सकिने

काठमाडौं, एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास डिपोजिट सेवाको शुभारम्भ गरेको छ । यस सेवा मार्फत ग्राहकले सहज रुपमा खातामा नगद रकम जम्मा गर्न सक्न्ेछन् । यस सेवा अन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना ग्राहकले केबल खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको बैंकले जनाएको छ । मेसिनबाट रू १,००० र रू ५०० दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेकोमा एक जना ग्राहकको खातामा एक पटकमा अधिकतम रू. ९९,५०० गरी दैनिक अधिकतम रू ९,९९,५०० सम्म नगद जम्मा गर्न सकिने छ ।
यस नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि सेवाग्राहीले रकम जम्मा गर्न इच्छाएको खाता नम्बर उल्लेख गरेपछि मोबाइल नम्बरमा ओपीटी प्राप्त गर्छन् । उक्त ओपीटी मेसिनमा उल्लेख गरेर भेरिफाइ भएपछि रकम जम्मा गर्ने प्रक्रिया प्रारम्भ हुनेछ । मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा जम्मा गरिदिने र त्यसको जानकारी समेत एसएमएस तथा रिसिप्ट मार्फत उपलब्ध हुने व्यवस्था बैंकले गरेको छ । बैंकले यो सेवा हालको लागि आफ्नो न्यूरोडको बिशालबजार शाखामा सञ्चालन गरेको छ भने यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योेजना बनाएको छ ।