काठमाडौंमा १८ हजार कुकुरको बन्ध्याकरण, २२ हजार कुकुरलाई रेबिज खोप

कुकुर व्यवस्थापनका लागि एक करोड ६० लाख विनियोजन


१४ श्रावण २०७९, शनिबार
dogs
सांकेतिक तस्वीर

काठमाडौं । महानगरीय कुकुर व्यवस्थापन कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिकाभित्र १८ हजार सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ ।

यहाँ आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा ‘काठमाडौं महानगरपालिका’ र ‘द जाने गुडल इन्स्टिच्युट’को समन्वय र सहकार्यमा सन् २०१६ देखि अहिलेसम्म २२ हजार कुकुरलाई रेबिज खोप लगाइएको कार्यक्रमका संयोजक वसन्त गौतमले जानकारी दिए ।

जनावर, वातावरण संरक्षण तथा समाज कल्याणका क्षेत्रमा क्रियाशील उक्त इन्स्टिच्युटले रेबिजको आशंका भएका करिब ५०० कुकुरको परीक्षण गरेको जनाएको छ ।

महानगरपालिकाका प्रत्येक वडामा कुकुर व्यवस्थापनका लागि इन्स्टिच्युटले स्थानीय समुदायको सहभागितामा आधारित कार्य सञ्चालन गर्न ३२ वटै वडामा प्रत्येक वडाध्यक्षको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरी कार्य गर्दै आएको छ ।

मानव स्वास्थ्य, बालमनोविज्ञान तथा वातावरणमा नकारात्मक प्रभाव पर्न नदिन जनचेतनामूलक कार्यसमेत सञ्चालन भएको जनाइएको छ । अधिवक्ता सञ्जय अधिकारीले व्यवस्थापनका सन्दर्भमा जनावरलाई कम पीडा हुने विधि सञ्चालन गर्न सर्वोच्च अदालतले फैसला गरेको जानकारी दिए ।

महानगरपालिकाले चालु आवमा कुकुर व्यवस्थापनका लागि एक करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ । यो रकम गत आवको तुलनामा ६० लाख रुपैयाँ बढी हो । महानगरभित्र घरपालुवा कुकुरको संख्या करिब ८४ हजार रहेको जनाइएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७