टिपरको ठक्करबाट मृत्यु भएका युवकको शव १० घण्टापछि उठाइयो

सर्लाही । सर्लाहीको बरहथवामा टिपरको ठक्करबाट मृत्यु भएका युवकको शव १० घण्टापछि घटनास्थलबाट उठाइएको छ ।
बरहथवा नगरपालिका-१० किसानपुरमा शुक्रबार बिहान पौने ९ बजे बागमती प्रदेश ०३-००१ क ०१९६ नम्बरको टिपरले ना २१ प ७४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २१ वर्षीय मुकेश साहको मृत्यु भएको हो ।
रौतहटको इशनाथ नगरपालिका-५ घर भएका साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिए ।
साहको मृत्युपछि स्थानीय र उनका आफन्तले दोषीलाई कारबाही माग गर्दै शव घटनास्थलमै राखेर शुक्रबार दिनभर विरोध प्रदर्शन गरेका थिए ।
शुक्रबार साँझ ७ बजे साहको शव घटनास्थलबाट उठाएर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको यादवले बताए । टिपर चालक मकवानपुरको भीमफेदी गाउँपालिका-६ का २७ वर्षीय राजु लामालाई प्रहरीले पक्राउ गरेको छ ।