नेपालमा बाघ बढेकोमा हलिउड अभिनेता लियोनार्डोले दिए बधाइ


१४ श्रावण २०७९, शनिबार
leonardo dicaprio 20220730135419

काठमाडौं । नेपाल बाघको संख्या दोब्बर बढेकोमा हलिउडका चर्चित अभिनेता लियोनार्डो डिक्याप्रियोले बधाइ दिएका छन् । नेपाल २०१० मा लिएको बाघको संख्या दोब्बर बनाउने लक्ष्यमा सफल भएको भन्दै उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै बधाइ दिएका हुन् ।

उनले भनेका छन्, ‘यसपालिको बाघ दिवश एकदमै विशेष भएको छ । किनभने नेपाल सन् २०१० मा लिएको जंगली बाघको संख्या सन् २०२२ सम्ममा दोब्बर बनाउने उद्देश्यमा सफल भएको घोषणा गरेको छ। यो प्रभवशाली कोसेढुङ्गा पार गरेकोमा नेपाललाई बधाई छ ।’

हाल सकिएको सन् २०२२ को सर्वेक्षण अनुसार नेपालमा बाघको संख्या ३५५ रहेको बताउँदै उनले भने, ‘सन् २०२२ को सर्वेक्षण अनुसार नेपालमा हाल बाघको संख्या ३५५ छ । सन् २०१० मा यो संख्या १२१ मात्र थियो। यो एक अविश्वसनीय उपलब्धी हो । विगत १२ वर्षदेखि नेपाल सरकार वन्यजन्तु संरक्षणमा लागेको प्रमाण हो ।’

बाघको संख्या बढेपछि यसले सिकार गर्ने संख्या पनि बढ्ने भएकोले उनले बाघबाट जोगिन कदम चाल्नुपर्ने बताएका छन् । ‘बाघको संख्या बढेसँगै त्यससँग सुरक्षित रहन थप ध्यान केन्द्रित गर्नु जरुरी छ । नेपालले वन्यजन्तुसँग सुरक्षित रहन ’प्रधानमन्त्री मानव वन्यजन्तु उद्धार तथा राहत कोष’ शुरु गरेको छ, यो प्रशंसनीय कार्य हो ।’

नेपालमा पाटेबाघको संख्यामा दोब्बरले बढेको छ । विश्वबाटै लोप हुने आशंकाले सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा बाघ पाइने देशहरूले गरेको प्रतिबद्धता अनुरूप नेपालले शुरु गरेको बाघ संरक्षण कार्यले सन् २०२२ मा लक्ष्य पूरा गरेको हो । पछिल्लो गणनाको नतिजाअनुसार नेपालमा ३५५ वटा पाटेबाघ छन् ।

गत वर्षको मंसिर १९ गते शुरु भएर फागुन २८ गते सम्पन्न बाघ गणनामा सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा रहेको उल्लेख छ । त्यहाँ १२८ बाघ छन् । दोस्रोमा बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५ र तेस्रो बढी पर्सा राष्ट्रिय निकुञ्जमा ४१ बाघ छन् । यस्तै चौथो शुक्ला फाँटा राष्ट्रिय निकुञ्जमा ३६ र पाँचौं बाँके राष्ट्रिय निकुञ्जमा २५ बाघ रहेको गणना रिपोर्टले देखाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७