‘लास्ट इनिङ्स’ मा देशले पछिसम्म सम्झिनलायक काम गर्न मन छ : प्रचण्ड


१४ श्रावण २०७९, शनिबार
Prachanda 1 scaled
फाइल फोटो

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुनः एक पटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गरेका छन् ।

शनिवार नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पुनः एक पटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन् । उनले आफ्नो लागि आगामी चुनावबाट देशको नेतृत्व गर्ने र यो नेतृत्व आफ्नो जीवनको अन्तिम र स्मरणयोग्य हुने विश्वास व्यक्त गरे ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले आफ्नो लागि आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनु र देशको विकास र समृद्धि कसरी हुन्छ भन्ने कुरा देखाउनु प्रमुख लक्ष्य रहेको बताए ।

उनले आफ्नो ‘लास्ट इनिङ’ पछिसम्म सम्झने गरी देशलाई केही चिज दिने सपना बुनेको बताए । अध्यक्ष प्रचण्डले पालिका तहको चुनावको अनुभवलाई समीक्षा गरेर आगामी प्रदेश र संघको चुनावमा देशमा दोस्रो राजनीतिक शक्ति बन्ने दाबी गरे । उनले दोस्रो शक्ति बनाउने गरी नेपाली कांग्रेसले सहयोग नगरे गठबन्धनमा सहयोग नगर्ने चेतावनी पनि दिए ।

यस्तै, अध्यक्ष दाहालले नेत्रविक्रम चन्द, मोहन वैद्य र पूर्व प्रधानमन्त्री समेत रहेका डा.बाबुराम भट्टराई माओवादी नभएको दाबी समेत गरेका छन् । अध्यक्ष प्रचण्डले माओवादीले किसान लक्षित उत्पादन वृद्धि गर्ने बजेट ल्याएको बताएका छन् ।

उनले किसान लक्षित बजेट ल्याएका कारण प्रतिक्रियावादीहरु, बुर्जुवाहरु र दलालहरु आत्तिएर आफूमाथि विभिन्न आरोप लगाइरहेको पनि बताए । अध्यक्ष दाहालले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्न र एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाउन माओवादीका कारण सम्भव भएको उल्लेख गरे ।

उनले माओवादीमाथि आरोप लगाएर जनतालाई भ्रमित पार्ने षड्यन्त्र भइरहेको दाबी गरे । अध्यक्ष दाहालले देश विकास गर्ने कुरा माओवादी बिना सम्भव नरहेको उल्लेख गर्दै आउने तीन महिना माओवादीका लागि चुनौतीपूणर् रहेको बताए । उनले देशको राजनीतिक मानचित्र बदल्न सक्ने तागत माओवादीसँग मात्रै रहेको भन्दै आफै परिवर्तनको मालिक हुने गरेर अघि बढ्न आवश्यक रहेको बताए ।

अध्यक्ष प्रचण्डले समाज भत्काउने प्रतिगमनकारीहरुले राजनीतिमा बुढापाकाहरु चाहिँदैन भन्ने गरेको उल्लेख गर्दै त्यसलाई पराजित गर्न आवश्यक रहेको बताएका छन् । उनले अहिलेको गठबन्धन चुनावसम्म पनि कायम रहने र कुनै समाजवादी केन्द्र नबन्ने उद्घोष समेत गरे । उनले आगामी प्रदेश र संघको चुनावमा मान्छे हेरिहेरि टिकट बाँड्न पाइने भएकोले निर्वाचनमा टिकट वितरण गर्न गाह्रो नरहेको उल्लेख गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७