बाम गठबन्धन नबनाएसम्म मुलुकले निकास पाउँदैन : शाक्य


२०७९ श्रावण १४ शनिबार ०७:२४ बजे

लमजुङ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वर्तमान गठबन्धन तोडेर बाम गठबन्धन नबन्दासम्म मुलुकले निकास नपाउने बताएकी छन् ।

नेकपा एमाले लमजुङले सदरमुकाम बेसीसहरमा आज (शनिबार) आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले वर्तमान गठबन्धन सरकारलाई ढालेर बामपन्थी सरकार निर्माण गर्नुपर्ने बताइन् । उनले अब कम्युनिस्ट पार्टीको नाममा स-साना पसल थापिरहँदा बामपन्थी सरकार नबन्ने र मुलुकले गति पनि लिन नसक्ने दावी गरिन् । ‘यो सरकार रहँदासम्म देशमा भ्रष्टाचार रोकिन्न, महङ्गी घट्दैन, न त समृद्धि नै आउँछ’, शाक्यले थपिन्, ‘हेर्नुहोस त एमसीसी पास गरेर अमेरिकी सेना भित्राउँदै छन् । यो सिधै चाइनामाथि धावा बोल्न हो ।’

मुलुकमा संघीयता सही ढङ्गले सञ्चालन गर्न नसक्दा व्यवस्था माथिनै प्रश्न उठ्न थालेको भन्दै उनले चिन्ता ब्यक्त गरिन् । उनले थपिन् ‘हिजो सबैले देशलाई संघीयतामा लैजाउँ भनेर संविधानमै सात प्रदेशको व्यवस्था गरियो । तर अहिले व्यस्थापन गतिलो नगरेर व्यवस्थाप्रति नै नकारात्मक टिप्पणी भइरहेको छ, यो कार्य गलत छ । संघीयता सही ढंगले सञ्चालन गर्नसके नागरिकले विकास र सम्वृद्धि छिटो पाउने छन् ।’ उनले हिजोका दिनमा प्रदेश सरकार राम्रोसँग सञ्चालन गरेको र प्रदेशलाइ बलियो बनाउन संघसंग निरन्तर लडिरहेको भन्दै उपहासचिव एंव गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको प्रशंसा गरिन् ।

उपमहासचिव पृथ्वीसुब्बा गुरूङले आगामी चुनावमा बामपन्थी शक्ति एक हुन नसके पनि गठबन्धन विरुद्ध एमाले एक्लै लड्न उच्च मनोवलका साथ तयार हुनुपर्ने बताएका छन् । उनले गण्डकी प्रदेशमा अहिले पनि एमाले पहिलो शक्तिको रूपमा रहेको बताउँदै आगामी चुनावमा अझ बलियो बनेर आउनुपर्ने बताए ।

उनले पुँजीवादको अवशेषको रूपमा रहेको कांग्रेसको पछि लागेका कम्युनिस्ट पार्टीहरू समाजवादी बन्न नसक्ने आरोप लगाए । उनले अब छिट्टै एमालेबाट अन्यपार्टीमा लागेका, माओवादी, समाजवादीमा रहेकाहरूलाई पार्टीमा भित्र्याउने बताए । नेता गुरूङले स्थानीय चुनावमा पार्टीभित्र केही अन्तरघात भएको बताउँदै उनीहरूलाई आगामी चुनावपछि कारबाही गरिने बताएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७