युवाहरूमा पदलोलुपता हुनु हुँदैन : ओली

‘पद प्राप्तिका लागि होइन, काममा प्रतिस्पर्धा गर्नुपर्छ’


१४ श्रावण २०७९, शनिबार
KP Sharma Oli

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरूमा पदलोलुपता हुन नहुने बताएका छन् । आज (शनिबार) राष्ट्रिय युवा संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले युवा पंक्ति अनुशासनमा हिँड्न आवश्यक रहेको बताए ।

युवाहरू पद बिनै बस्न नसक्ने अवस्था आयो भने पार्टीमा २०/३५ जनासम्म उपाध्यक्ष बनाउनु पर्ने अवस्था आउने उनले बताए । युवाहरूमा कमजोरीहरू देखा परेको भन्दै उनले भने, ‘युवाहरूका केही कमी कमजोरीका पक्षहरू पनि देखिएका छन् । युवाहरूमा ती कमी कमजोरीका पक्ष हुनु भएन । युवा उमेर भनेको भर्खर भर्खर राजनीतिमा प्रवेश गर्दै गरेको उमेर हो । यतिबेलै पदलोलुपता आयो भने, यतिबेलै महत्वाकांक्षा पलायो भने, पद बिनै बस्न नसक्ने अवस्था भयो भने, पदै दिनका लागि ३०/३५ जना उपाध्यक्ष बनाउनुपर्ने अवस्था आउन सक्छ ।’

त्यस्तै युवाहरूले माथिल्ला पदहरूमा मात्र दाबी गर्ने हो भने पार्टी बलियो नहुने उनको भनाइ थियो । पछिल्लो समय राजनीतिमा युवापंक्तिलाई अवसर नदिइएको भन्ने आरोप लागिरहेका बेला ओलीले भने युवा उमेर भर्खर भर्खर राजनीतिमा प्रवेश गर्ने उमेर भएको बताए छन् ।

उनले थपे भने, ‘युवाहरूलाई माथिल्ला पद नभइ नहुने भएर ठूला-ठूला कमिटी बनाउनुपर्ने अवस्था आयो भने त्यो पनि राम्रो होइन । आफूले भने जस्तो भएन भने अनुशासन उल्लंघन गरेर हिँड्ने युवासुलभ गुण होइनन् । त्यसकारण युवाहरूमा वैचारिक स्पष्टता र दह्रोपन आवश्यक छ । त्यसलाई व्यवहारमा एकताबद्ध र अनुशासित रूपमा उतार्न सक्नुपर्छ । पद प्राप्तिका लागि होइन काममा प्रतिस्पर्धा गर्नुपर्छ ।’

अहिले पनि एमाले देशको सबैभन्दा ठूलो पार्टी भएको उनले बताएका छन् । चौतर्फी घेराबन्दीका बाबजुद पनि युवा शक्तिकै कारण एमाले देशको सबैभन्दा ठूलो र लोकप्रिय पार्टी भएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७