कामु प्रधानन्यायाधीशलाई ओलीको सन्देश : हामी सजगताका साथ हेरिरहेका छौं, कदम चाल्न सक्छौं


१५ श्रावण २०७९, आईतवार
KP Sharma Oli 2

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले न्यायपालिको गतिबिधिहरु एमालेले सजगताको साथ हेरीरहेको बताएका छन् । कामु प्रधानन्यायाधीश दिपककुमार कार्कीको भूमिकामाथि प्रश्न उठाउँदै अध्यक्ष ओलीले आवश्यक पर्दा स्वतन्त्र न्यायपालिका जोगाउन एमालेले गम्भीर कदम चाल्ने चेतावनीसमेत दिए ।

राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष ओलीले गत बुधबार कामु प्रधानन्यायाधीश कार्की र सत्ता गठबन्धनका नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको भेटको बिषयमा प्रश्न उठाए । उनले सोधे, ‘एक जना नेता कुदेर कामु प्रधानन्यायाधीशकहाँ गएर २ घण्टा बसे । त्यहाँबाट बाहिर निस्किएपछि ती नेता घरतिर लागे, श्रीमानजी अदालततिर जानुभयो । लेनदेन हुने गरेको छ नेपालमा  । त्यहाँ के भयो ?’

५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा बुधवार (११ साउन २०७९) मा अन्तिम सुनवाइ अघि माओवादी अध्यक्ष प्रचण्डले कामु प्रधानन्यायाधीश कार्कीसँग ‘गोप्य’ दुईघन्टा भेटवार्ता गरेका थिए । अध्यक्ष ओलीले यही भेटको बिषयमा प्रश्न उठाएका हुन् ।

ओलीको चेतावनी कदम चाल्न सक्छौं
अध्यक्ष ओलीले आवश्यक पर्दा स्वतन्त्र न्यायपालिका जोगाउन एमालेले गम्भीर कदम चाल्ने चेतावनीसमेत दिए । ओलीले भने, ‘यस सत्ता गठबन्धनको उलमुलामा अदालत पर्नु हुँदैन । यो गठबन्धन भनेको २ दिनको पाहुना हो । ढोडका लौराको भर परेर नचल्न सुझाव दिन चाहान्छु । यदि देशको पक्षमा, न्यायको पक्षमा कदम चाल्नुपरेमा एमाले पनि कदम चाल्न सक्छ र तयार छ भन्ने कुरा पनि राख्न चाहान्छु । हामी सबै कुरा सजगताका साथ साथ हेरिरहेका छौं । कुनै पनि बेथिति सहँदैनौं ।’

अध्यक्ष आलीले अदालत सत्तागठबन्धनको प्रभाव र दबाबमा पर्न नहुने बताए । गठबन्धन र सरकारको दबाबमा परेर गैर सबैधानिक हिसाबले आफूले नियुक्त गरेका ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति खारेज गरेमा कदम चाल्न सक्ने संकेत अध्यक्ष ओलीले गरेका छन् । नेकपा (एमाले)ले आबश्यक पर्दा प्रयोग गर्न सक्ने गरी आफ्ना सांसदहरुको हस्तक्षार संकलन गरेर राखेको हल्ला चलिरहेको बेला अध्यक्ष ओलीको यो भनाई आएको हो ।

त्यहाँ के भयो ? लेनदेन हुने गरेको छ नेपालमा । हामी विनम्रताका साथ आग्रह गर्छौं,सम्मानति सर्वोच्च अदालतबाट न्याय सम्पादन हुनुपर्छ, कुनै खुसामद होइन । कुन खासखुस, कुनै लेनदेन, कुनै घासघुस जसको चर्चा चलेको छ, त्यही कुरा निरन्तर हुनु हुँदैन ।

उनले गठबन्धनबाट प्रभावित नहुन पनि सचेत बनाए । भने, ‘अदालतका न्यायाधीशहरू भनिरहेका छन् अदालत भ्रष्ट भयो,बदनाम भयो । त्यसबाट मुक्त गर्नका लागि श्रीमान न्यायाधीशहरूलाई आग्रह गर्न चाहान्छु । मुख्यरूपमा न्याय सम्पादन होस् । यस सत्ता गठबन्धनको उलमुलामा अदालत पर्नु हुँदैन । यो गठबन्धन भनेको २ दिनको पाहुना हो । ढोडका लौराको भर परेर नचल्न सुझाव दिन चाहान्छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७