गुप्तचर विभागको एआईजी बन्न चार जना डीआईजी दौडधुपमा


१५ श्रावण २०७९, आईतवार
NID राष्ट्रिय अनुसन्धान विभाग

काठमाडौं : राष्ट्रिय अनुसन्धान विभाग (राअवि) को अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) कुलदेव थापा तीन दिने कार्यकाल पूरा गर्दै ०७९ साउन ३ गते मंगलबार ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकासमा गएका छन् । उनी अवकाशमा गएपछि विभागमा एकजनाको एआईजी पद रिक्त भएको छ ।

थापालाई २०७९ असार ३१ गते बसेको मन्त्रिपरिषद बैठकले एआईजीमा बढुवा गरेको थियो । पोखराबाट आएर उनले साउन १ गते आइतबार कार्यभार सम्हालेका थिए ।

थापालाई सरकारले एआईजीको पेन्सन खान मात्र बढुवा गरेको बताइन्छ । काभ्रे नेपाली कांग्रेसका सभापति तीर्थ लामाको जोडबलमा उनी एआईजीमा बढुवा भएको विभागभित्र चर्चा चल्ने गरेको छ ।

अहिले उक्त पदमा बढुवा हुन सिनियर चारजना अनुसन्धान निर्देशक (डीआईजी) हरू हुतराज थापा, ओमराज जोशी, हरिहर पौडेल, सुनिल कुमार ढकाल दौडमा छन ।

कैलालीका ओमराज जोशीले सुदूर पश्चिम प्रदेशका सबै सांसदमार्फत एआईजीमा बढुवा हुन जोडबलका साथ लविङ गरिरहेको समास्रोत बताउँछ । प्रधानमन्त्री निवास बालुवाटारसँग राम्रो सम्बन्ध भएका जोशीलाई नै विभागको भावी एआईजीको रुपमा लिने गरिएको छ । सोही कारण ‘सुप’का जोशी कै बढुवा हुने प्रवल सम्भावना रहेको प्रधानमन्त्री शेरबहादुर देउवा निकट स्रोतले जानकारी दिएको छ ।

जोशीलाई एआईजीमा बढुवा नगरे आगामी मंसिरमा हुने निर्वाचनमा सोही स्थानबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्ने तयारीमा रहेकी प्रधानमन्त्री पत्नी डा.आरजु राणालाई चुनावमा कैलालीबासी जनताले असहयोग गर्ने चलाइएको छ ।

त्यसकारण पनि जोशीको नै बढुवा हुने लगभग निश्चित जस्तै भएको बालुवाटार निकट स्रोतको दाबी रहेको छ । भावी प्रधानमन्त्री बन्ने ख्वाव लिएकी डा। आरजु राणा यसपाली कैलालीबाट जसरी पनि चुनाव जित्ने रणनीतिमा रहेकी छिन ।

त्यसका लागि चारवटै सुरक्षा निकायका प्रमुख आफ्नो विश्वासिला व्यक्तिलाई बनाएर आफ्नो पक्षमा चुनावी माहोल बनाउने भित्री रणनीतिमा प्रधानमन्त्री देउवा लागेको बताइन्छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीमा प्रधानमन्त्री देउवाले कांग्रेस निकटलाई प्रमुख बनाइ सकेका छन् । अब राअविमा जोशीलाई प्रमुख बनाएर सुरक्षा निकायलाई आफ्नो पकडमा राख्ने तयारी गरिरहेको बताइएको छ ।

देउवा गृह मन्त्री हुँदा जोशी विभागमा अनुसन्धान अधिकृतमा भर्ना भएका थिए । त्यसैले उनलाई अहिले एआईजीमा बढुवा गरेर आगामी २०७९ भदौ २३ गतेपछि मुख्य अनुसन्धान निर्देशक (चिफ) बनाउनका लागि प्रधानमन्त्री देउवा नै भएका छन । तर सत्ता साझेदार दल नेकपा मओवादी केन्द्रले भने यो बिषयलाई स्वीकार गरेको छैन ।

जोशी प्रमुख हु“दा आगामी चुनावमा सूचना प्राप्त गर्न, त्यही अनुसार चुनावी गठबन्धन गर्न र शान्ति सुरक्षा कायम गर्न सहज हुने बालुवाटारको विश्लेषण रहेको बताइएको छ । जोशी एक त आफ्नो ‘सुप’ क्षेत्रका, दोस्रो आदेश भन्दा तलमाथि नगर्ने स्वभाव र कार्यशैली भएका व्यक्ति मानिन्छन् । तर वरिष्ठताको आधारमा थापा नै अगाडि छन् ।

राअबिमा वरिष्ठलाई पन्छाएर कनिष्टलाई बढुवा गर्ने प्रचलन कमै पाइन्छ । यही कारण बरिष्ठताका आधारमा डीआइजी कुलदेव थापाको बढुवा गरिएको थियो । यसकारण पनि थापा आफ्नो बढुवा हुनेमा ढुक्क छन ।

उता, कन्ट्रोलमा आउने सूचना पनि यति बजे कार्यक्रम भयो, यति जना आए, प्रमुख अतिथि फलानो, यति बजे कार्यक्रम सकियो भन्ने मात्र हुने गरेको कन्ट्रोल स्रोतले जानकारी दिएको छ । थापा र एसपी भूमि प्रसाद पाठक कन्ट्रोलमा रहुन्जेल इन्टेलिजेन्स सूचना र अन्य सूचना भरपर्दो रुपमा आउन नसक्ने विभाग स्रोतले बतायो ।

२०७४ भदौ १४ गते डीआईजीमा बढुवा भएका चार अनुसन्धान निर्देशकहरु जोशी, थापा, पौडेल र ढकाल नै एआजीका लागि मुख्य प्रतिस्पर्धी रहेका छन् । तर बालुवाटारले भने जोशीलाई अहिले बढुवा गरेर २०७९ भदौ २३ पछि चिफ बनाउने तयारी गरेको बताइन्छ । त्यसपछि भने अनुसन्धान निर्देशक टेकेन्द्र कार्की वा मधु कार्की मध्ये एकजना अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा हुनसक्ने स्रोतले बतायो ।

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले हाल कर्णाली प्रदेशको सुर्खेतमा कार्यरत अनुसन्धान निर्देशक रहेका कार्कीलाई र प्रधानमन्त्री पत्नी डा। आरजु राणा हाल सुदूर पश्चिम प्रदेशका अनुसन्धान निर्देशक रहेका मधु कार्कीलाई अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा गर्न चाहेको समाचारस्रोतको दावी छ । यसमा कसले बाजी मार्छ अहिल्यै भन्न सक्ने स्थिति छैन विभाग स्रोतले भन्यो ।

एआईजीमा जोशीको बढुवा भए थापा, पौडेल र ढकाल आगामी २०७९ भदौ १३ गते अनुसन्धान निर्देशकको पाँच वर्षे कार्यकाल सकाएर अनिवार्य अवकासमा जानेछन् । त्यसपछि २०७९ असोजमा प्रदेश नं १ का अनुसन्धान निर्देशक प्रकाशराज पाण्डे अवकास हुनेछन । त्यसपछि रिक्त हुने पाँच अनुसन्धान निर्देशकमा सहअनुसन्धान निर्देशकहरू राम प्रसाद दास, ईन्द्र बहादुर लामा, किशोर श्रेष्ठ, माधव तिमिल्सिना र बज्रेश हमाललगायत बढुवाको सूचीमा रहेको विभाग स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७