धनाढ्य र बुद्धिजीवीबाटै स्तनपानमा हेलचेक्र्याई : स्वास्थ्यमन्त्री खापुङ


१७ श्रावण २०७९, मंगलवार
bhawani khapung

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले बुद्धिजीवीहरू, धनाढ्य व्यक्तिहरूबाट नै बच्चालाई आमाको स्तनपान गराउने कुरामा हेलचेक्र्याइँ भइरहेको बताएका छन् । आज (मंगलबार) प्रसूति गृह थापाथलीमा बेबी मिल्क बैंक स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री खापुङले विकास निर्माणको अग्रसरतामा पछि परेको कर्णाली प्रदेशमा बच्चालाई स्तनपान गराउने संख्या बढी देखिएकाले बच्चा हुर्काउने र बच्चालाई स्तनपान गराउने मामिलामा बागमती प्रदेशभन्दा कणर्ाली प्रदेश नै बौद्धिक देखिएको जिकिर गरे ।

उनले बुद्धिजीवीहरू, धनाढ्य व्यक्तिहरू बस्ने बागमती प्रदेश र काठमाडौंमा बच्चालाई आमाको स्तनपान गराउनेको संख्या सबैभन्दा कम देखिएको बताए । उनले हरेक बच्चाले आमाको स्तनपान गर्न पाउने नैसर्गिक अधिकार भएकाले बच्चाको नैसर्गिक अधिकार हनन गर्नु नहुने बताए ।

मन्त्री खापुङले सहरी समाजमा बच्चालाई आमाले स्तनपान गराउने कुरामा भइरहेको कमीको कारण पत्ता लगाएर त्यसको निवारण गर्न आवश्यक रहेको बताए । उनले बच्चालाई आमाको स्तनपान नगराउनु प्रकृतिको नियमविपरीत भएको बताए ।

उनले सरकारले निःशुल्क भनेर घोषणा गरेका औषधिहरू आवश्यक समयमा जनताले निःशुल्क नपाएको कारण पत्ता लगाएर तत्काल समस्या समाधान गर्न पनि सम्बन्धित निकाय र मन्त्रालयका सचिवलाई निर्देशन दिए । उनले निःशुल्क रूपमा सर्वसुलभ तरिकाले उपलब्ध गराउने गरी सरकारले घोषणा गरेको औषधिको व्यवस्थालाई तत्काल कार्यान्वयन गर्नुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७