सप्तकोशीको बाँध फुटेर बाढी बस्तीमा पस्यो, एक हजार बढी घर परिवार उच्च जोखिममा


१८ श्रावण २०७९, बुधबार
koshi barrage

सुनसरी । उदयपुरको बेलका नगरपालिका–८ स्थित ‘जिरो पोइन्ट’ बाट सप्तकोशी नदीको बाढी बस्तीमा पसेको छ । नदीको बाढी बस्तीमा पसेसँगै सयौं घर जोखिममा परेका छन् । कटान रोक्न सरकारी तहबाट तीन हप्तादेखिको प्रयास प्रभावकारी नहुँदा बाढी अस्थायी बाँध फुटाएर बस्तीमा पसेको स्थानीयले जानकारी दिएका छन् ।

हिजो दिउँसैदेखि बाढी रोक्ने प्रयास गरिए पनि बुधबार बिहान सप्तकोशीले अस्थायी बाँध भत्काएको हो । योसँगै बेलका नगरपालिका–२ र ३ का सैयौं बस्ती जोखिममा परेका छन् । केही घर कोशीले डुबाएको छ । नगरपालिकाले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेको छ ।

बेलका नगरपालिकाका मेयर अशोक कार्कीले प्रभावित बस्तीबाट स्थानीयलाई सार्ने काम भइरहेको जानकारी दिएका छन् । कोशीको बाढीबाट तत्काल ६ देखि ७ सय परिवार विस्थापित हुने उनले जानकारी दिए । डुम्रीबोटे हुँदै छिर्ने बाढीले सिसौलीघाट, धौरी टप्पु, चिलिमे, एबीसी, श्रीलंका टापु र रामनगरका स्थानीय प्रभावित भएका छन् ।

२०४५ सालदेखि कोशी पूर्वतिरबाट बग्न थालेपछि अहिले कोशी पसेको क्षेत्रमा बस्ती बसेको थियो । ३४ वर्षपछि कोशीले आफ्नो पुरानै बाटो समातेको हो । तर, यसका कारण सैयौं परिवार विस्थापित हुने देखिएको छ । कोशीको मूल भँगालो बस्तीतिर जान थालेपछि उदयपुर मात्र होइन, सुनसरी र सप्तरीका केही बस्ती समेत डुबानमा पर्नेछन् । नदीको मूल भँगालो पसिनसकेकाले अहिले क्षति हुन पाएको छैन । तर, कटान नरोकिएकाले आज दिनभरीमा मूल भँगालो पनि पस्न सक्ने देखेको स्थानीय राजेश भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७