अभियान लघुवित्तको आईपीओ बिक्री खुला


१८ श्रावण २०७९, बुधबार
IPO


काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (बुधबार) देखि प्राथमिक शेयर (आईपीओ) निष्कासन शुरु गरेको छ । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँअंकित मूल्यका नौ करोड ७५ लाख रुपैयाँबराबरको नौ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन बिक्री खुला गरको हो ।

लघुवित्तले निष्कासन गरेको कुल नौ लाख ७५ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामुहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ । बाँकी नौ लाख १३ हजार ७५० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आईपीओमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा मागबमोजिम आवेदन नपरे आउँदो भदौ १ गतेसम्म आवेदन दिने समय थप गरिने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जानकारी दिएको छ । लगानीकर्ताले न्यूनतम १० देखि तीन हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने जनाइएको छ । आवेदकले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्ने छन् ।

आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्युअर रेटिङ डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्छ । हाल लघुवित्तको चुक्ता पुँजी १५ करोड २५ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँडपश्चात लघुवित्तको चुक्ता पुँजी २५ करोड रुपैयाँ पुग्नेछ ।

आर्थिक वर्ष २०७७-७८ सम्म कम्पनीको सञ्चित नाफा ३५ लाख रुपैयाँ छ । यस्तै, उक्त अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६० पैसा छ । प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ३६ पैसा छ ।

कम्पनीले पहिलो कारोबारका लागि नेप्सेबाट १०५ रुपैयाँ ३६ पैसादेखि ३१६ रुपैयाँ ०८ पैसा पाउने देखिन्छ । आईपीओ निष्कासन गरेको कम्पनीलाई धितोपत्र दोस्रो बजारमा नेप्सेले वास्तविक प्रतिसेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्म मूल्य रेञ्ज दिने गर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७