राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्नु पर्नेमा जोड


१८ श्रावण २०७९, बुधबार
griha mantralaya

काठमाडौं । सांसदहरुले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्नुपर्नेमा जोड दिएका छन् ।
आज (बुधबार) सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था समिति बैठकमा नेपाल विशेष सेवा विधेयक, २०७६ माथि सैद्धान्तिक छलफलका क्रममा उनीहरुले प्रधानमन्त्री कार्यालयमा भन्दा गृह मातहत राख्दा अनुसन्धान विभागको काम प्रभावकारी हुने बताएका हुन् ।

छलफलमा भाग लिदै सांसद नवराज सिलवालले गृह मन्त्रालयबाट नै सुरक्षा निकायको व्यावसायिकताको बुझाईमा प्रभावकारी हुने भएकाले अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत ल्याउनुपर्ने बताए । अनुसन्धान विभागमा योग्य व्यक्ति ल्याउनका लागि लोक सेवामार्फत भर्ना लिन उचित हुने उनको भनाइ छ ।

त्यस्तै, सांसद गगन कुमार थापाले यसअघि विशेष उदेश्यका साथ अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राखे पनि विभागलाई उचित ढंगले सञ्चालन गर्ने क्षमता गृह मन्त्रालयसँग मात्रै रहेको बताएका छन् । व्यक्तिको गोपनीयतालाई ख्याल गर्दै अनुसन्धानका लागि सूचना संकलनका लागि अदालतसँग अनुमति माग्नुपर्ने प्रावधानलाई राख्नुपर्ने उनको भनाइ छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथिको छलफलका क्रममा आएका संशोधन र सुझावलाई आवश्यकता अनुसार कानुनमा राखिने बताए । उनले सुरक्षाका विषयका कानुनहरुलाई छिटो छलफल गरेर पारित गर्न आग्रह पनि गरे । यसअघि साउन १३ गते बसेको प्रतिनिधिसभाको बैठकले नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७