भक्ततपुर-धुलिखेल सडक विस्तारको प्रक्रिया थालियो


१८ श्रावण २०७९, बुधबार
8 lane road

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार गर्न प्रक्रिया थालिएको छ । यसका लागि सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाले विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) थालेको छ ।

आयोजनाले डिपीआरसँगै सडकको डिजाइन समेत गरिरहेको जनाएको छ । उसले डिपीआर र सडकको डिजाइनको काम सम्पन्न भए लगत्तै बोलपत्रको तयारी गर्ने भएको हो । आयोजनाले सूर्यविनायक-धुलिखेल सडक विस्तारका लागि यही साउन पहिलो साता राजमार्ग छेउछाउमा सडक मापदण्डभित्रका संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरिसकेको छ ।

सूर्यविनायक-धुलिखेल सडक विस्तारका लागि ‘कन्सल्ट्यान्ट हायर’ गरी डिपिआर थालिएको आयोजनाका डिभिजन इञ्जिनियर शम्भुप्रसाद आचार्यले जानकारी दिए । ‘सडकको डिजाइनको काम भइरहेको छ, डिपिआर र डिजाइनको काम सकेलगत्तै बोलपत्रको प्रक्रियामा जानेछौं’, उनले भने । उनका अनुसार सूर्यविनायक-धुलिखेल सडक विस्तारका लागि चालु आर्थिक वर्षमा रु ७० करोड बजेट विनियोजन भएको छ । सूर्यविनायक-धुलिखेल सडक विस्तार आयोजना बहुवर्षीय हो ।

छ लेनको डिजाइन हुने उक्त सडक निर्माणको काम सरकारले गर्ने भएको हो । सडक विभागले केही वर्षदेखि धुलिखेलदेखि बनेपाहुँदै भक्तपुरसम्म सडकको चाप बढिरहहेकाले उक्त सडकखण्ड विस्तारका लागि यसअघि नै प्रक्रिया थालेको थियो । उक्त सडक विस्तारका लागि सकेसम्म लगानीकर्ता खोजिने, नभए सरकार आफैंले निर्माण गर्ने जनाउँदै आइएको थियो । उक्त सडकखण्ड विस्तारमा केही वर्षदेखि चासो देखाउँदै आएको जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले नगर्ने बताइसकेको छ ।

‘बोलपत्र आह्वानपछि जाइकाले चासो दिए मात्रै हो, उसले सूर्यविनायक-धुलिखेल सडक विस्तारको काम नगर्ने बताइसकेको छ’ उनले भने । उक्त सडक करिब १६ किलोमिटर दूरीको छ । यसमध्ये काभ्रेमा १० र भक्तपुरमा छ किलोमिटर लम्बाइको पर्दछ । विस्तारका क्रममा निर्माण हुने छ लेनमध्ये सवारी साधनका लागि चार र दुई लेन सर्भिस् लेन हुने छ भने छ स्थानमा आकाशे पुल, चार स्थानमा पुल र एउटा कल्भर्ट निर्माण हुने जनाइएको छ । भक्तपुर र काभ्रेको सीमाक्षेत्र साँगामा प्रस्तावित एक दशमलब २९ किलोमिटर सुरुङमार्ग निर्माण गर्ने-नगर्नेबारे समेत छलफल भइरहेकोसमेत जनाइएको छ ।

सुरुङमार्ग निर्माण गर्दा निकै खर्चिलो हुने भएकाले लगभग नबन्ने देखिएको डिभिजन इञ्जिनीयर आचार्यले बताए । उनका अनुसार दुई लेनको सुरुङमार्गमा सडकको चौडाइ साढे तीन मिटरको हुनुपर्ने छ । आयोजनाका लागि प्रारम्भिक अध्ययनबाट करिब रु सात अर्बको बोलपत्र लाग्नसक्ने सांसद गोकुलप्रसाद बाँस्कोटाले बताए ।

उनका अनुसार १२ वर्ष पहिले तीनकुने-सूर्यबिनायक सडक विस्तार गरेको जाइकाले सूर्यविनायक-धुलिखेल सडक विस्तारका लागि आयोजनाको ‘डिजाइन’ गर्दा सुरुङमार्गबाहेक उक्त परिमाणको रकम लाग्नसक्ने अनुमान गरेको थियो । ‘आयोजना सम्पन्न भएपछि धुलिखेल-भक्तपुरको सवारीचाप निकै कम भई सडक विस्तारमा अर्को फड्को मार्नेछ’ उनले भने ।

जाइकाले नै सूर्यविनायक-धुलिखेल सडक विस्तारबारे सन् २०१८ मा अध्ययन सकेर प्रारम्भिक डिजाइन पेस गर्दै सरकारको बजेटमा डिजाइन अनुसारको कामगर्न नसक्ने जनाएको थियो । त्यसबेला सरकारसँग आयोजनाको बजेटमा सुरुङमार्गको योजना हटाएर पनि लागत कम गर्न अनुरोध गर्दै जाइकाले तारतम्य नमिलेको आरोप लगाउँदै हात झिकेको बताइन्छ । त्यसयता सरकारले आफैं निर्माण गर्ने जनाउँदै आएको हो ।

सरकारले आर्थिक वर्ष २०७७/७८ मा कान्ति राजपथसँगै धुलिखेल-सूर्यविनायक सडक विस्तार सुरु गर्न रु एक अर्ब २० करोड विनियोजन गरेको थियो भने अघिल्लो आवको बजेटमासमेत उपत्यकाको विद्यमान सवारीचापलाई व्यवस्थापन गर्न स्तरोन्नति विस्तृत अध्ययन गरिने उल्लेख गरेको थियो ।

डिभिजन सडक कार्यालय भक्तपुरले विसं २०७६मा सडक निर्माणस्थल खाली गराउन रुख कटानलगायतको काम गर्दै आए पनि केही समयमै सोकार्य रोकिएको थियो । सङ्घीय राजधानीबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका बिपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग धुलिखेल जोडिएको छ । यी सडकबाट अरनिको राजमार्गहुँदै प्रदेश १ र २ का नागरिक काठमाडाँै आउजाउ गर्दछन् । सडक विस्तार सम्पन्न भएपछि पनि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुल्ला भए यो सडकखण्डमा सवारी चाप बढ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७