नेता–कर्मचारीको पैसा कहाँ लुकाउने भन्ने चिन्ताले देश बिग्रियो : मन्त्री चौधरी


१८ श्रावण २०७९, बुधबार
Metmani
फाइल फोटो

काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले नेता तथा कर्मचारीले पैसा लुकाउने ठाउँबारे चिन्ता लिंदा मुलुक बिग्रिएको बताएका छन् । उनले बुधबार राजधानीमा आयोजित मन्त्रालयको आर्थिक वर्ष २०७८–७९ को समीक्षा तथा आगामी वर्षको कार्यक्रम कार्यान्वयनबारे तीन दिने गोष्ठीलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

सरकारमा सहभागी भएपछि मन्त्री नै अवैध आम्दानी, सन्तानका लागि सम्पत्ति जोड्ने, कमिसनमा ध्यान दिने र कर्मचारी पनि त्यही क्रियाकलापमा संलग्न हुने गरेको मन्त्री चौधरीले बताएका छन् । ‘नेता, मन्त्री र सरकारी कर्मचारी नै अकुत सम्पत्ति आर्जन गरेर पैसा कहाँ लुकाउने भन्ने चिन्ता गर्न थालेपछि देश बिग्रियो । यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्छ’, मन्त्री चौधरीले भने ।

सबैको सकारात्मक प्रतिबद्धताले मात्र देश निर्माण हुन सक्ने बताउँदै मन्त्री चौधरीले आगामी आर्थिक वर्षमा मन्त्रालयले कार्य प्रगति र कार्यक्रम कार्यान्वयनमा थप फड्को मार्ने विश्वास व्यक्त गरे । मन्त्रालयका निमित्त सचिव पद्मकुमार मैनालीले मन्त्रालयले हासिल गरेको प्रगतिलाई थप बढाउँदै लैजान अधिकारीहरुलाई निर्देशन दिएका थिए ।

उनले मुलुक निर्माणका लागि राष्ट्र सेवक कर्मचारीले नयाँ मानसिकताका साथ काम गनुपर्ने बताए । मन्त्रालय अन्तर्गतका विभिन्न विभाग तथा महाशाखा प्रमुखहरुले तीन दिनसम्म गत आवको प्रगति विवरण तथा आगामी कार्यक्रम कार्यान्वयनबारे छलफल गर्ने कायर्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७