ताइवान नजिकै चीनले शुरु गर्‍यो सैन्य अभ्यास : २७ विमान ताइवानको हवाईमा क्षेत्र प्रवेश


१९ श्रावण २०७९, बिहीबार
taiwan

काठमाडौँ । अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किए लगत्तै चीनले ताइवानको सीमाना वरपर सैन्य अभियान शुरु गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले ट्वीट गरेर सैन्य अभियान शुरु गरेको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘पीएलएले ताइवान नजिकै एक संयुक्त सैन्य अभ्यास शुरु गरेको हो । चीनले आफ्नो सम्प्रभुता र क्षेत्रीय अखण्डताको दृढतापूर्वक रक्षा गर्छ ।’ चीनले ताइवानको सीमाभन्दा १६ किलोमिटर मात्रै टाढाको समुद्री क्षेत्र वरपर सैन्य अभ्यास थालेको र पाँच दिन लामो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरुमा समेत हुने बीबीसीले जनाएको छ ।

यसैबीच ताइवानले २७ चिनियाँ लडाकु विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेको जनाएको छ । जी–७ देशहरुको समूहले चीनको सैन्य अभ्यास जायज नभएको टिप्पणी गरेको बीबीसीले उल्लेख गरेको छ । अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणको प्रतिक्रिया स्वरूप चीनले सैन्य अभ्यास घोषणा गरेको हो ।

छोटो तर विवादास्पद ताइवान भ्रमण सकेर अमेरिकी सभामुख पेलोसी फर्किसकेकी छन् । २५ वर्षमा ताइवान भ्रमण गरेकी सबैभन्दा वरिष्ठ अमेरिकी राजनीतिज्ञ पेलोसीले राजधानी ताइपेईमा शीर्ष नेताहरूसँग भेटवार्ता गरेकी थिइन् । यो भ्रमणबाट चीन–ताइवान र चीन–अमेरिकाबीच विवाद बढेको छ ।

चीनले यसअघि नै पेलोसीको भ्रमणलाई लिएर विरोध जनाएको थियो । पेलोसीले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । ताइवानका राष्ट्रपति साई इङ्ग–वेनसँगको भेटमा उनले वर्तमान विश्वले लोकतन्त्र र निरंकुशतामध्ये एउटालाई रोज्नु पर्ने परिस्थितिको सामना गरिरहेको समेत बताएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७