सप्तकोशी अपडेट : आज पनि उद्धार जारी, पानीको बहाव थोरै घट्यो

एकद्वार प्रणालीबाट राहत वितरण गरिने


१९ श्रावण २०७९, बिहीबार
saptakoshi bisthapitjpg

सुनसरी । सप्तकोशी नदीमा पानीको सतह केही घटेको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार अस्ती राति र हिजोको तुलनामा आज (बिहीबार) पानी केही कम भएको छ । हिजो बिहान सप्तकोशीको भङ्गालो फुटेर बस्तीमा पस्दा झण्डै १५ सय घर परिवार प्रभावित भएका छन् ।

सप्तकोशी नदीको भङ्गालो उदयपुरको बेलका नगरपालिकाको डुम्रीबोटबाट तटबन्ध फुटाउँदै दक्षिण पश्चिम क्षेत्र पस्दा बेलका नगरपालिकाका १, २, ३, ८ र ९ वडाका झण्डै १५ सय घर परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।

अहिलेसम्म कुनै मानवीय क्षति नभएको तर धान, मकैलगायतका खेतीबालीमा क्षति पुगेको छ । बाढीबाट प्रभावित परिवारलाई उद्धार गरी सुरक्षित ठाउँमा व्यवस्थापन गरिएको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिएका छन् ।
उद्धार गरिएका नागरिकको आवश्यक व्यवस्थापनका लागि टेन्ट तथा अन्य बन्दोबस्तीका सामान पठाइएको पनि उनले बताएका छन् । सुरक्षित ठाउँमा राखिएका नागरिक तत्काल पुरानो ठाउँमा फर्कन सक्ने अवस्था छैन ।

हिजो बिहान बेलका नगरपालिकाको डुम्रीबोटबाट तटबन्ध फुटाउँदै सिसौली टप्पु–चिलिया बस्तीतर्फ पस्न शुरु गरेको थियो । बेलका नगरपालिका मेयर अशोक कार्कीको संयोजकत्वमा तीनै तहका सरकारका प्रतिनिधि, सुरक्षा निकाय र सरोकारवालाहरुबीचको बैठक बसेर बेलका र बराहक्षेत्र नगरपालिकाका मेयरको संयोजकत्वमा खोज, राहत तथा पुनस्र्थापना समिति गठन गर्ने निर्णय समेत भएको छ । बैठकले नदीले पुर्‍याएको तथा पुर्‍याउन सक्ने थप क्षतिबारे आधिकारिक सूचना सम्प्रेषण गर्न सूचना संयन्त्र निर्माण गर्ने पनि निर्णय गरेको छ ।

सप्तरीका सप्तकोशी र कञ्चनरुप नगरपालिकाका प्रभावित हुनसक्ने वडाका बासिन्दालाई पनि सतर्क रहन सूचना गरिएको छ । बाढी प्रभावितको आश्रयस्थलका लागि बेलका नगरपालिकाको वडा नम्बर–९ धौरीमा ५ सय घर परिवार, वडा नम्बर–८ को एकता, चिलिया, दुर्गा मन्दिर टोलमा ५ सय घरपरिवार, वडा नम्बर–३ बुधबारे, शुक्रबारेमा ५ सय घर परिवार, वडा नम्बर–३ बानडाँडा, रामनगर, नारायणपुरमा, शिवालयमन्दिर, लालभित्त, भागलपुरमा ८ सय घरधुरीका लागि आश्रयस्थल बनाउने निर्णय भएको छ ।

बाढी प्रभावित क्षेत्रका केही स्थानीयले घर छाड्न नमानेका र थप क्षति हुनसक्ने भन्दै जिल्ला प्रशासनले सबै नागरिकलाई सुरक्षित ठाउँतर्फ जान पनि अनुरोध गरेको छ । आवश्यक राहत र उद्धारका काम सुरक्षा निकायको सहयोगमा भइरहेको प्रमुख जिल्ला अधिकारी यादवले बताएका छन् ।

एकद्वार प्रणालीबाट राहत वितरण गरिने
सप्तकोशी बाढी प्रभावितका लागि एकद्वार प्रणालीबाट राहत संकलन गर्ने र एकद्वार प्रणालीबाटै राहत वितरण गरिने भएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विज्ञप्ति निकालेर प्रभावितहरुलाई एकद्वार प्रणालीबाट राहत सङ्कलन गरी वितरण गरिने जनाएको हो । राहत सङ्कलनको काम शुरु भइसकेको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले बताए ।

राहतका लागि भन्दै नेपाल रेडक्रस सोसाइटीले एक सय थान त्रिपाल र एक थान हेल्मेट उपलब्ध गराएको छ । उदयपुर र सुनसरीका जिल्लाका प्रमुख जिल्ला अधिकारी वा प्रमुख जिल्ला अधिकारीले तोकेका अधिकृत र दुवै नगरपालिकाका मेयरको संयोजनमा राहत वितरण गरिने विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७