संघीय निर्वाचन मंसिर ४ मा गर्ने सरकारको घोषणा


१९ श्रावण २०७९, बिहीबार
pm office 1

काठमाडौँ । सरकारले प्रादेशिक र संघीय निर्वाचन आउँदो मंसिर ४ गते गर्ने घोषणा गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गतेका लागि प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको हो ।

मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचनको मिति घोषणा गरेको एक मन्त्रीले पुष्टि गरेका छन् । ‘२०७९ मंसिर ४ गते आइतबार प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निणर्य भएको छ’, ती मन्त्रीले सुनाए, ‘एकै चरणमा निर्वाचन सम्पन्न हुनेछ ।’


बुधबार सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ मै संसदीय निर्वाचन गर्ने सहमति गरेको थियो । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले निर्वाचन आयोगले दिएको भन्दा २ दिनपछि चुनाव गर्ने सहमति गरेको हो । यसअघि निर्वाचन आयोगले आगामी मंसिर २ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्न सकिने सुझाव सरकारलाई दिएको थियो ।

तर, उक्त दिन शुक्रबार पर्ने र शुक्रबारका दिन निर्वाचन गर्दा मुस्लिम समुदायलाई गाह्रो पर्ने भएकाले दुई दिनपछि मिति तय गरिएको नेपाली कांग्रेसका एक पदाधिकारीको भनाइ छ । ‘आयोगले मंसिर २ का लागि निर्वाचन मिति घोषणा गर्न सिफारिस गरेको थियो । त्यो दिन शुक्रबार पर्छ,’ ती पदाधिकारीले भने, ‘शुक्रबार निर्वाचनको मिति घोषणा गर्दा मुस्लिम समुदायलाई गाह्रो पर्ने भएकाले आइतबार (मंसिर ४) का लागि मिति तोक्ने दलहरुबीचमा सहमति भएको हो । ’

निर्वाचनको मिति घोषणासँगै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार स्वतः कामचलाउमा परिणत भएको छ । सरकारले यसअघि गत वैशाख ३० मा स्थानीय तह निर्वाचन एकै चरणमा सम्पन्न गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७