कोरोना संक्रमणको चौथो लहरको संकेत, मृत्तकमध्ये अधिकांश खोप नलगाएका


१९ श्रावण २०७९, बिहीबार
korona 1

काठमाडौ । नेपालमा चार जनामा घटेको संक्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो हप्ता नेपालमा दैनिक संक्रमण बढ्दै गएको पुष्टि हुन्छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव देखिन थालेपछि नेपालमा संक्रमण बढ्न थालेको हो । खुला सीमाका कारण भारतबाट सजिलै नेपाल आउने भएपछि संक्रमण बढ्न थालेको बताइएको छ ।

नेपालमा पनि ओमिक्रोनको ‘विएफाइभ’ प्रजाति देखिएको र उक्त प्रजातिको संक्रमणको सर्ने दर उच्च रहेकाले पनि अहिले नेपालमा संक्रमण बढिरहेको छ । पहिले यहाँ संक्रमणदर ०.५ प्रतिशतसम्म झरेकामा अहिले १५ प्रतिशतभन्दा माथि पुगेको छ । साउन १८ गते नौ सय १५ संक्रमित, साउन १७ गते आठ सय १४, साउन १६ गते आठ सय ९५ संक्रमित र एक जनाको निधन भएको छ ।

यस्तै साउन १५ गते छ सय २०, साउन १४ गते चार सय ३८ र दुई जनाको मृत्यु, साउन १३ गते पाँच सय ७७ जना र दुई जनाको मृत्यु, साउन १२ गते सात सय १० र दुई जनाको मृत्यु, साउन ११ गते पाँच सय ६४ र एक जनाको मृत्यु, साउन १० गते छ सय ३८ र दुई जनाको मृत्यु भएको छ । यसरी संक्रमण दैनिक बढेर हजारको नजिक पुग्न थालेको छ ।

दैनिक संक्रमण बढिरहेकाले नेपालमा कतै संक्रमणको चौथो लहर आएको त होइन भन्ने लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले संक्रमणको लहर ग्राफले देखाउने गरेको र अहिले देखिएको संक्रमणको ग्राफले अर्को लहरको सङ्केत गरेको बताए । सरकारले आधिकारिकरूपमा संक्रमणको चौथो लहर भन्ने नगरेको र संक्रमणको ग्राफले नै लहर बताउने गरेको उनको भनाइ रहेको छ । ‘हामीले पहिले पनि ग्राफ बढे पनि संक्रमणको लहर भनेको थिएनाँै । अहिले पनि हामी भन्दैनौं’, उनले भने, ‘तर अहिले संक्रमणको ग्राफले आफै अर्काे लहर देखाएको छ ।’

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालले अहिले दैनिक बढिरहेको संक्रमणले चौथो लहरको सङ्केत गरेको बताउँछन् । 
‘सरकारले आधिकारिकरूपमा चौथो लहर भन्ने गरेको छैन । तर अहिले दैनिक हजारको संख्याले संक्रमणको चौथो लहरको सङ्केत गरेको छ’, उनले भने, ‘यदि यसैगरी संक्रमण बढ्न थाल्यो भने चौथो लहर नआउला भन्न सकिन्न ।’

उनले संक्रमण साउन र भदौमा धेरै माथि (पिक) मा पुग्ने र त्यसपछि घट्ने बताउँछन् । खुला सीमा भएकाले दैनिक सीमानाकाबाट आउने मानिसमा संक्रमण देखिने गरेको छ । ती मानिसहरूले नै संक्रमण सारिरहेका छन् । जनस्वास्थ्यविद् डा. सागरराज भण्डारीले साउनदेखि नै कोरोना भाइरस संक्रमणको चौथो लहर सुरु भएको बताउँछन् । ‘संक्रमणको पाँच प्रतिशतभन्दा माथि भयो भने अर्काे लहर आएको भन्ने हुन्छ’, उनले भने, ‘नेपालमा अहिले बढेको संक्रमणको अवस्था हेर्दा १५ प्रतिशतकै हाराहारीमा रहेको छ ।’

उनले अहिलेको संक्रमणको तह माथिल्लो तह (पिक लेभल) मा पुगेपछि पुनः घट्ने बताए । उनले भारतको खुला सीमाना र विदेशबाट आएका संक्रमितले संक्रमण सार्ने गरेको बताए । उनका अनुसार अहिले देखिएको ‘विएफाइव’ भेरियन्टले छिटो मानिसमा सारे पनि संक्रमितलाई भने गम्भीर बनाउँदैन । उनले संक्रमित बढिरहेकाले जनस्वास्थ्यका मापदण्ड लागू गर्न र कोरोना भाइरसको चौथो बुष्टर लगाउन आग्रह गरे ।

नेपालमा पहिलोपटक २०७६ माघ ९ गते संक्रमण पुष्टि भएको थियो । यस्तै दोस्रो संक्रमित चैत १० गते देखिएको थियो । सरकारले दोस्रो संक्रमित देखिएपछि मुलुकभर बन्दाबन्दी (लकडाउन) गरेको थियो । नेपालमा पहिलो लहर विसं २०७६ चैतदेखि २०७७ मंसिरसम्म चलेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमणका दोस्रो लहर विसं २०७७ वैशाखदेखि भदौसम्म तथा तेस्रो लहर २०७८ पुसदेखि फागुनसम्म देखिएको थियो । मन्त्रालयले सम्भावित संक्रमणको जोखिमलाई ध्यान दिएर सबै अस्पताल, स्वास्थ्य संस्था र प्रदेशमा तोकिएका कोभिड–१९ अस्पताललाई संmमित व्यक्तिको व्यवस्थापन गर्नका लागि निर्देशनसमेत दिइसकेको छ ।

यस्तै मन्त्रालयले देशभरिका १७ अस्पताललााई सम्भावित जोखिमलाई ध्यानमा दिएर कोरोना भाइरसका बिरामीको उपचारको व्यवस्था मिलाएको छ । मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भीडभाड हुने स्थानमा अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ ।

सबै सरकारी, गैरसरकारी कार्यालय तथा मानिसको भीडभाड हुने स्थानमा विमानस्थल, हवाईलगायत सार्वजनिक यातायातमा गोष्ठी, सेमिनार, बैठकजस्ता भीडभाड हुने कार्यक्रममा मास्कको प्रयोगलाई अनिवार्य गर्ने र स्यानिटाइजरको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
यस्तै कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गर्न निर्देशन दिँदै खोप लगाउन बाँकी रहेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ ।

मृतक अधिकांश खोप नलगाएका

कोरोना भाइरसको संक्रमणबाट छ महिनासम्म कसैको पनि निधन भएको थिएन । तर पछिल्लो दिनमा भने दैनिक एक वा दुई जनाको संक्रमणबाट निधन हुने गरेको छ । साउन १ गतेबाट संक्रमणबाट मानिस मर्न थालेका हुन् । पछिल्ला समय कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएकामध्ये ८० प्रतिशतले खोप नलगाएको पाइएको छ । महाशाखाका प्रमुख डा गेलालले संक्रमणबाट निधन भएकामध्ये ८० प्रतिशतले खोप नलगाएको र २० प्रतिशतले पूर्ण मात्राको खोप नलगाएको जानकारी दिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७