सवारीसाधनको नम्बर प्लेटमा नेपाली भाषा लेख्न बारको माग


१९ श्रावण २०७९, बिहीबार
Nepal Bar Association

काठमाडौं । नेपाल बार एशोसिएसनले यातायात व्यवस्था विभागबाट प्रदान गरिने सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा (देवनागरी लिपि) मा लेख्नुपर्ने अनिवार्य व्यवस्था गर्न माग गरेको छ ।

बारका महासचिव अधिवक्ता अञ्जिता खनालले आज जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली नागरिकले प्रयोग गरी आएको भाषाको संरक्षण, सम्वद्र्धन गर्ने गराउने कार्यमा लाग्नका लागि उक्त व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरिएको छ ।

‘यातायात व्यवस्था विभागबाट सवारीसाधनको नम्बर प्लेटमा अङ्ग्रेजी भाषाको प्रयोग गरिनु संवैधानिक व्यवस्थाको भावना र मर्म प्रतिकूल छ’, विज्ञप्तिमा भनिएको छ, ‘जुनसुकै तर्क वा आधार र कारणमा पनि संविधानले आत्मसात गरेको भाषालाई प्रतिस्थापन गर्ने गरी प्रत्यक्ष वा परोक्षरुपमा कुनै पनि कार्य गर्न मिल्दैन ।’

नेपालको संविधानको धारा ६ मा ‘नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा हुन्’ भनिएको छ । संविधानको धारा ७ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ भनिएको छ । त्यस्तै नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्नसक्ने उल्लेख छ ।

बारको कार्यसमिति बैठकले नेपाली नागरिकले सदियौँदेखि प्रयोग गरी आएको भाषा प्रयोग नगरी अन्य भाषा प्रयोग गरिनु भनेको नेपाली नागरिकको भाषासम्बन्धी संविधानले प्रत्याभूत गरेको संवैधानिक हकको हनन् भएको ठहर गरेको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७