धरानका मेयर साम्पाङविरुद्ध एमाले नेतृ भण्डारीले दिइन् साइबर ब्यूरोमा उजुरी


१९ श्रावण २०७९, बिहीबार
Harka Sampang

काठमाडौँ । नेकपा एमाले नेतृ एवं धरानकी निवर्तमान उपमेयर मञ्जु भण्डारीले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) विरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छिन् ।

मेयर साम्पाङको आधिकारिक फेसबुक पेज ‘हर्क साम्पाङ अ रेभुलेसन’ ले सामाजिक तथा जातीय सद्भाव विथोलिने गरी आफ्नो फेक आइडी बनाएर लेखिएको पोष्टको स्क्रिन सट सम्प्रेषण गरेपछि बाध्य भएर साइबर अपराधविरुद्ध उजुरी दिनु परेको भण्डारीले बताएकी छन् । बिहीबार होटल सन्ध्या इनमा पत्रकार सम्मेलन गर्दै एमाले केन्द्रीय सदस्य समेत रहेकी भण्डारीले मेयर साम्पाङले सम्प्रेषण गरेको स्क्रिनसट आफ्नो नभई फेक आइडी बनाएर गरेको कुकृत्य भएको आरोप लगाइन् ।

यो अपराधिक घटना भएको र अन्य पीडित नहोस् भनेर प्रमाणसहित आफूले मुद्दा दिएको उनले बताएकी छन् । उनले भनिन्, ‘योभन्दा अगाडि पनि मेयर हर्क साम्पाङले मेरो तस्बिर जोडिएको फोटो पोष्ट गरेपछि मैले साइबर क्राइमबारे सचेत गराएकी थिएँ । तर, उहाँले सच्चिनुको साटो झन् सामाजिक सद्भाव खलबलाउने गरस् फेक आइडी बनाएर त्यसको स्क्रिम सर्ट पोष्ट गरेपछि मैले बाध्य भएर उजुरी दिनुपरेको हो ।’

भण्डारीले मेयर साम्पाङको फेसबुक पेजसँगै अन्य थुप्रैको आइडीबाट सेयर भएको प्रमाणसहित ब्युरोमा उजुरी दिएको बताएकी छन् । धरानको सामाजिक सद्भाव खलल पुग्ने खालको कार्य भएकोले चुप लागेर बस्न नसकिएको पनि उनले बताइन् ।

बराह पीडित संघर्ष समितिको संयोजक खगेन्द्र नेपालीसँग आफ्नो तस्बिर र नेकपा एमालेलाई जोडेर वास्तविक पीडितहरुको आन्दोलनलाई राजनीतिकरण गरी डाइभर्ट गर्न खोजेको भण्डारीको आरोप छ । उनले बराह पीडितहरु धेरै एमाले, कांग्रेस, माओवादी हुनसक्ने भए पनि पार्टीले राजनीतिकरण नगरेको र संलग्नता नरहेको पनि बताएकी छन् । ।

आइतबार बराह सहकारीका सेयर सदस्य तथा वचतकर्ताहरु धरान उपमहानगरपालिकामा घेराउ गर्न पुगेका थिए । त्यसबेला मेयर साम्पाङले मलाई सोधेर पैसा राखेको हो र ? भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै पीडितहरुले मेयरविरुद्ध नाराबाजी र कार्यकक्षको शिशा तोडफोड समेत गरिदिएका थिए । उक्त घटनापछि मेयर साम्पाङले बराह पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीले गएको स्थानीय तह निर्वाचनमा एमालेबाट मेयरको उम्मेद्वार मण्जु भण्डारीको प्रचार गरेको तस्बिरसहित पोष्ट गरेका थिए । यो तस्बिर पोष्ट गरेपछि मेयर साम्पाङ र नेकपा एमालेका नेता, कार्यकर्ताहरुबीच फेसबुक वार सुरु भएको थियो ।

यता, मेयर साम्पाङ भने आफूले कुनै पनि पार्टीलाई दोष नदेखाएको बताएका छन् । आफ्ना अञ्जान समर्थकहरुले गरेको पोष्टहरुबारे आफू अनुभिज्ञ रहेको पनि उनले बताएका छन् । पूर्वउपमेयर भण्डारीको आइडि स्क्रिनसटबारे उनले भने, ‘जे लेखिएको छ त्यही पोष्टमा छ । मैले त जातीय बिद्धेषमा जानु हुँदैन भनेर भनेको छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७