उपेन्द्र यादवले जितेको सप्तरी-२ बाट चुनाव लड्ने सिके राउतको घोषणा


२० श्रावण २०७९, शुक्रबार
Ck Raut Upendra

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सप्तरी-२ बाट चुनाव लड्ने भएका छन् । सप्तरी-२ घर भएका राउत सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने जनमत पार्टीका महासचिव चन्दन सिंहले जानकारी दिए ।

औपचारिकरुपमा घोषणा गर्न बाँकी रहे पनि डा. राउतले सप्तरी-२ बाट चुनाव लड्ने पक्कापक्की भइसकेको महासचिव सिंहले बताएका छन् । उक्त क्षेत्रबाट २०७४ सालको निर्वाचनमा जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव विजयी भएका थिए ।

सरकारमा सहभागी रहेको जसपाविरुद्ध पटकपटक आन्दोलन गरेको जनमत पार्टीका केन्द्रीय अध्यक्ष राउतले जसपा अध्यक्ष यादव निर्वाचित क्षेत्रबाट उम्मेदवारी दिन लागेका हुन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ का केही वडामा विजयी भएपनि जनमत पार्टीले कुनै पनि पालिकामा जित निकाल्न सकेन । राउतको घर रहेको सप्तरीको महादेवा गाउँपालिकामा समेत जनमत पार्टीका उम्मेदवार पराजित भएका थिए ।

हनुमाननगर कंकालिनी नगरपालिका र बलानबिहुल गाउँपालिकाको प्रमुख पदमा जनमत पार्टीका उम्मेदवार विजयी भएका थिए। यद्यपि, यी दुबै पालिका अध्यक्ष राउत उठ्ने भनिएको क्षेत्र नं २ मा पर्दैन ।

२४ फागुन २०७५ मा तात्कालिक प्रधानमन्त्री केपी शर्मा ओलि नेतृत्वको सरकारसंग ११ बुँदे सहमति गरी सिके राउत मूलधारको राजनीतिमा आएका थिए । स्वतन्त्र मधेश गठनबन्धनबाट जनमत पार्टी दर्ता गराएपछि महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षको उपनिर्वाचनमा उम्मेदवारी दर्ता गरी सो पार्टी निर्वाचन प्रक्रियामा सहभागी भएको थियो ।

गत वैशाख ३० को स्थानीय तह निर्वाचनमा मधेश प्रदेशका १३६ स्थानीय तहसंगै प्रदेश १, लुम्बिनीलगायतका प्रदेशमा उम्मेदवारी दर्ता गराएको थियो । स्थानीय तहमा जनमत पार्टीबाट नगर प्रमुखमा एक, गाउँपालिका अध्यक्षमा एक, उपाध्यक्षमा एक र वडा अध्यक्षमा १९ जना निर्वाचित भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७