बाघको छालासहित चार जना पक्राउ


२० श्रावण २०७९, शुक्रबार
tiger skin

कैलाली । बाघको छालासहित कैलालीमा चार जना पक्राउ परेका छन् । बिहीबार राति साढे १२ बजे गोदावरी नगरपालिका-२ अत्तरियातर्फ अवैध रुपमा बाघको छाला ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा आरआईटी र इलाका प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।

डोटी जोरायल गाउँपालिका-२ का समिर ओलीले चलाएको बोलेरो जीपमा उनीहरु बाघको छालासहित पक्राउ परेका हुन् ।
कैलाली चुरे गाउँपालिका-६ का टेकबहादुर रावत, धीरेन्द्र रावत र बैतडी डिलासैन गाउँपालिका-२ का राजेन्द्रसिंह भण्डारी पक्राउ परेका हुन् ।

तेघरी खानेपानी ट्याङ्की नजिक सडकमा धनगढीतर्फ आएको सु प प्र ०४-००१ च ०००६ नम्बरको बोलेरो जिप रोक्न खोज्दा नरोकी अगाडि बढेको थियो । त्यसपछि शंका लागेर प्रहरीले पिछा गरेको थियो । गाडीमा सेतो प्लास्टिकमा बाघको छाला एक थान र हड्डीहरु फेला परेको कैलाली प्रहरीले जानकारी दिएको छ । उनीहरुले छाला अत्तरियातर्फ बिक्री गर्ने उद्देश्यले लग्दै गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७