सत्ता गठबन्धनले भदौ पहिलो साता भागबण्डा टुङ्ग्याउने

बाबुराम र बामदेवलाई गठबन्धनमा सहभागी नगराउने


२० श्रावण २०७९, शुक्रबार
Gathbandhan Top five leader of nepal

काठमाडौँ । आउँदो मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि पाँच दलीय गठबन्धनले चुनावी तालमेल गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । पाँच दल मिलेर चुनाव लड्ने निणर्य भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । जसपाबाट फुटेका डा. बाबुराम भट्टराई र बामदेव गौतमलाई गठबन्धनमा सहभागी नगराउने निणर्य भएको ती नेताले जानकारी दिएका छन् ।

‘पाँच दलभित्रको गठबन्धनलाई निरन्तरता दिने भनेपछि अन्य पार्टीलाई सहभागी गराउने च्याप्टर क्लोज भयो,’ ती नेताले भने, ‘पाँच दल मिलेर हामी चुनाव लड्छौं, आजको बैठकमा कोही गठबन्धनको प्रस्ताव लिएर नआएको जानकारी भयो ।’

सत्तारुढ पाँच दलीय गठबन्धनले भदौ पहिलो साताभित्र १६५ निर्वाचन क्षेत्रको भागबण्डा मिलाउने भएको छ । सरकारले मंसिर ४ गते निर्वाचन मिति घोषणा गरेपछि चुनावी तालमेल र भागबण्डाबारे छलफल गर्न शुक्रबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा कार्यदलमार्फत सिटको भागबण्डा मिलाउन दलहरु सहमत भएका हुन् ।

सत्ता गठबन्धनमा रहेका दलहरुले सिट भागबण्डामा आ-आफ्नै प्रस्ताव अघि सारेका छन् । तर शुक्रबारको बैठकमा कुनै पनि दलले सिट दावी नगरेको नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले जानकारी दिए ।

‘आजको बैठकमा कार्यदल बनाउने र त्यसैमार्फत अघि बढ्ने निर्णय भएको छ’, भुसालले भने, ‘सिटको दावी कसले कति भनेर छलफल भएन ।’ यसअघि काँग्रेसले ९५ देखि १०० सिट आफूले पाउनुपर्ने बताउँदै आएको छ भने माओवादी केन्द्रले ५० माथि दावी गर्दै आएको छ । त्यस्तै नेकपा एकीकृत समाजवादी २० र जनता समाजवादीले १५ देखि २० सिटमा दावी गर्ने नेताहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७