चुनावमा १० दल मिलेर आए पनि एक्लै सामना गर्ने ताकत एमालेसँग छ : नेम्वाङ


२१ श्रावण २०७९, शनिबार
nembang

दाङ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सरकारको गलत कदम जनादेशबाटै अन्त्य हुने बताएका छन् । लामो समयसम्मको राजनैतिक अस्थिरताको अन्त्य गर्न जरुरी रहेको भन्दै उनले अब जनादेशका माध्यमबाटै एमालेले देशको अस्थिरतालाई हटाउने दावी गरे । अस्थिरता कायम हुनु नै गलत कदम भएकाले त्यसको अन्त्य निर्वाचनबाट हुने उनको भनाइ छ ।

उनले आगामी निर्वाचनमा विचार मिल्ने पार्टीसँग चुनावी तालमेल हुने बताए । प्रेस चौतारी नेपाल दाङले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष नेम्वाङले सरकारले निर्वाचनको मिति तोक्नु स्वागतयोग्य भएको बताए । सरकारले निर्वाचन मिति तोकेको छ, यो स्वागत योग्य छ, उनले थपे, ‘प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा विचार मिल्ने पार्टीसँग चुनावी तालमेल गरेर निर्वाचनमा होमिन्छौं ।’

गलत बाटोबाट पार्टीमा विभाजन ल्याउनुका साथै ११ महिनादेखि एमालेले दर्ता गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा राखिनु गलत रहेको भन्दै उपाध्यक्ष नेम्वाङले यी सबै गलत कदमको अन्त्य जनादेशबाट गर्ने बताए । सर्वोच्च अदालत कायम मुकायम प्रधान न्यायाधीशको भरमा चलाउनु लज्जाको विषयको भएको बताउँदै उपाध्यक्ष नेम्वाङले प्रधान न्यायाधीशमाथि लगाइएको महाभियोग नटुंग्याएर सरकारले गलत गरेको बताए ।

‘प्रधानन्यायाधीशलाई महाभियोग लगाएर लामो समयसम्म सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको भरमा चलाइएको छ’ उनले भने ‘संसदमा दर्ता भएको महाभियोगको विषयमा छलफलै नगरी मुलुकको सर्वोच्च निकाय सर्वोच्च अदालत यति लामो समयसम्म कामु प्रधान न्यायाधीशको भरमा चलाइनु लज्जाको विषय हो ।’

पाँच दल मात्र नभई १० दल भएर आए पनि एक्लै सामना गर्ने ताकत एमालेसँग भएको भन्दै उपाध्यक्ष नेम्वाङले एमालेका बिरुद्ध गठबन्धन हुनुले निर्वाचन पहिले नै एमालेको आधा जीत भइसकेको बताए । गठबन्धन आफैंमा संसदीय मूल्य मान्यताविपरीत भएको आरोप लगाउँदै एमालेसँग एक्लै लड्ने हैसियत कसैले राख्न नसक्ने प्रमाणित भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७