एमाले ढाल्न कांग्रेस बञ्चरो, प्रचण्ड र माधव बिंड बने : ओली


२१ श्रावण २०७९, शनिबार
KP Sharma Oli

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई बञ्चरो, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई त्यसको बिँडको संज्ञा दिएका छन् ।

आज (शनिवार) कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले बिँड बिनाको बञ्चरोले रुख ढाल्न नसक्ने र एमालेरुपी रुख ढाल्न प्रचण्ड र माधव नेपालले बिँडको भूमिका खेलेको आरोप लगाए । दुई तिहाईको कम्युनिष्ट सरकार तिनै बिँडले ढालेको भन्दै प्रचण्ड र माधव नेपालको पछि लाग्ने कार्यकर्तालाई कम्युनिष्ट पार्टी सिध्याउने बिँडको भूमिकामा नलाग्न सम्झाउने अभियान थाल्न आग्रह गरे । अध्यक्ष ओलीले रुख बञ्चरोको कथा समेत सुनाउन भ्याए ।

एमाले अध्यक्ष ओलीले सुनाएको बञ्जरोको कथा जस्ताको तस्तै 
संसदीय निर्वाचन र प्रदेशसभाका लागि हुने निर्वाचन मंसिर ४ गते हुँदै गरेको निर्वाचनमा भाग लिन लागिरहेका छौँ । पञ्चायतकालको शासनले कांग्रेसलाई दमन गरेको थियो । कांग्रेस शासनमा आएपछि उसले दमन गर्न सुरु गरेको छ । अहिले हामी कांग्रेसको चर्को दमनभित्र परेका छौँ, उसलाई दमन गर्न सजिलो भएको छ ।

हिजो पनि मैले एक ठाउँमा भनेको थिए । बञ्चरो लिएर एक जनाले रुख ढाल्न थालेछन् । वरिपरिका रुखहरू बराबरी आँशु खसालेर रुन लागेछन् । अरु रुखहरूले सोधे किन यसरी आँशु खसाएर रुन थालेको ? आखिर ढल्नु त छँदैछ । अब ८ अर्बपछि केही बीचमा भएन भने, बीचमा भयो भने त ध्वस्त भइहाल्छ, केही नभई यसै शान्त ढंगले चल्ने हो भने ८ अर्ब वर्षपछि यो पृथ्वी समाप्त हुन्छ । अब ८ अर्ब वर्षमात्र बाँकी छ । यो पृथ्वी वैंशमा छ अहिले । कुनै दुर्घटना भए बैंशमा पनि जान सक्छ । भएन भने पनि ८ अर्ब वर्षपछि त खत्तम हुन्छ ।

त्यो भन्दा छ- सात अर्ब बर्ष अगाडि नै मानवजाति समाप्त भइसकेको हुन्छ । यो सौर्य मण्डल नै समाप्त हुन्छ भने कसैले काटेर ढाल्न लाग्यो भनेर किन पिल-पिल आँशु खसाएको भनेर वरिपरिका रुखले सोधे । अनि देख्नेहरुले भने फलामको बञ्चराले रुखहरू काट्यो ठूलो कुरा हैन । तर हामीलाई काट्ने बञ्चराको बिँड चाहिँ हामी जस्तै काठैको छ त्यो चाँही दुःखको कुरा हो भन्यो । अहिलेको राजनीति त्यस्तै छ ।

काँग्रेसका बिँड चाहिँ कस्ता छन् हेर्नुहोस् त ? एमाले ढाल्ने, एमाले काट्ने, एमाले सिध्याउने बिँडका नाम चाँही कस्ता कस्ता छन् ? त्यही भनेर रुख बरबर आँशु खसाल्दो रहेछ । ढल्नुपर्‍यो, जानुपर्‍यो भन्ने पीर हैन, बञ्चराले मात्र रुख ढाल्नै सक्दैन तर बिँड नभई । घोट्दा पनि हुँदैन केही गर्दा पनि हुँदैन बिँड नभई । अहिले बिँडको कारणले बञ्चरो चम्केको छ । काँग्रेसलाई हामीले जम्मा २३ सिटमा पुर्‍याई दिएका थियौं २३ सिटमा ।

काँग्रेसले हामीलाई ढाल्ने त कुनै छोडौं हेर्न नसक्ने स्थितिमा पुर्‍याइ दिएका थियौँ । यिनै बिँड हुन् जसले कम्युनिष्ट पार्टी फुटाएर, अदालत गएर, कम्युनिष्ट सरकार ढालीपाँउ, दक्षिणपन्थी सरकार ढालीपाँउ, त्यसका लागि परमादेश जारी गरिपाऊँ भन्ने यिनै बिँड हुन् । त्यो अवस्थामा हामी छौँ । चुनाव आउँदैछ यो नेता के के गठबन्धन गर्दैछन् छोडिदिँउ तर माओवादी पछाडि लागेका कार्यकर्ता र माधव नेपाल पछाडि लागेका कार्यकर्तालाई भन्नु पर्दछ काँग्रेसका बिँड भएर कम्युनिष्ट सिध्याउने कि कम्युनिष्ट पार्टीलाई जोगाउने भनेर सम्झाउनुपर्दछ र फर्काउनु पर्दछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७