डुम्रे-बेंसीशहर र बेंसीशहर-चामे सडक अवरुद्ध


२२ श्रावण २०७९, आईतवार
pahiro baglung
फाइल फोटो

लमजुङ । लगातारको भारी वर्षासँगै गएको पहिराले गए रातिदेखि डुम्रे-बेंसीशहर र बेंसीशहर चामे सडक फेरि अवरुद्ध भएको छ । डुम्रे बेँसीशहर सडकअन्तर्गत बेँसीशहर नगरपालिका-१ उदिपुरको देउराली डाँडा र मर्स्याङ्दी गाउँपालिका-४ रामबजारको पहिरोले बेंसीशहर चामे सडक अवरुद्ध भएको हो ।

वैकल्पिक सडकका रुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।
उनका अनुसार पहिराले अवरुद्ध बनाएको सडक एक्साभेटरको माध्यमबाट खुलाउने कार्य भइरहेको छ ।

यही भदौ ११ गते र गत असारको पहिलो हप्ता आएको बाढीले सो सडकको देउरालीडाँडामा सडक बगाएको थियो । सडक अवरुद्धका कारण बेँसीशहरबाट काठमाडौँ, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेँसीशहर आउने यात्रुहरु बढी मारमा परेका छन् । यस सडक ४२ किलोमिटर दूरीको छ ।

त्यस्तै, लमजुङ मनाङ जोड्ने बेँसीशहर चामे सडकअन्तर्गत उक्त रामबजारमा पहिराले अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन हुन सकेको छैन । सडक माथिबाट ठूला ढुङ्गामाटा सहितको पहिरो खसेर सडक अवरुद्ध भइरहेको प्रहरीले जनाएको छ । यस सडक हुँदै विशेष गरी मनाङवासीहरु आवतजावत हुने गर्दछन् । तर उनीहरुलाई यसरी पटक-पटक सडक अवरुद्ध हुँदा समस्या हुँदै आएको छ । यस सडक ६५ किलोमिटरको दूरीमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७