रावाबेंसी गाउँपालिकाद्वारा होटल कुक तालिम सञ्चालनमा अनियमितता


२२ श्रावण २०७९, आईतवार
rawabesi photo daman

खोटाङ । खोटाङको रावाबेंसी गाउँपालिकाले होटल कुक तालिम सञ्चालनका क्रममा अनियमितता गरेको पाइएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिबेदन २०७९ मा गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा १८ जनालाई दिने भनिएको ४५ दिनको कुक तालिममा १४ जनालाई मात्र सहभागी गराएर बढी भुक्तानी दिएको उल्लेख छ ।

नेशनल मानव विकास ट्रेनिङ इन्स्टीच्यूट प्रालि नेपालगञ्जले मूल्य अभिबृद्धि कर सहित ५ लाख ९८ हजार ९०० रुपैयाँमा तालिम सञ्चालन गर्नेगरी २०७७ साल फागुन ११ गते गाउँपालिकासँग सम्झौता गरेको थियो ।

सम्झौता अनुसार २०७७ फागुन २७ देखि ४५ दिनसम्म कुक तालिम सञ्चालन गरिएको थियो । तालिममा सहभागी १४ जना बराबरको ४ लाख ६५ हजार ८११ मात्र भुक्तानी दिनुपर्नेमा १८ जनाकै भुक्तानी दिएको पाइएको महालेखाले जनाएको छ । बढी भुक्तानी दिइएको १ लाख १३ हजार ८८ असुल गर्न भनिएको छ ।

यस्तै, रावाबेँसी गाउँपालिका-४ डुम्रेधारापानीमा आधारभुत स्वास्थ्य इकाइ भवन निर्माणका क्रममा बढी भुक्तानी दिएको पाइएको छ । गाउँपालिकाको १६ लाख ५३ हजार र उपभोक्ता समितिको १ लाख ७६ हजार ८९ गरी कुल १८ लाख २९ हजार ८९ मा सम्पन्न गर्नेगरी सम्झौता भएको भवन निर्माणका क्रममा सम्झौता भन्दा बढी भुक्तानी दिइएको १ लाख ६८ हजार रकम उपभोक्ता समितिबाट असुल गरी राजस्व दाखिला गर्न भनिएको छ । आधारभुत स्वास्थ्य इकाइ भवन २०७८ जेठ ६ गते सुरु गरेर २०७८ असार १५ गते सम्पन्न गरिएको थियो ।

महालेखाले मोटरसाइकलको व्यवस्था गरी इन्धन तथा मर्मत खर्च समेत उपलव्ध गराइएकोमा पुःन यातायात खर्चवापत मासिक चार हजारका दरले दोहोरो सुविधा लिएका दुई वडाध्यक्षबाट ९६ हजार दाखिला गर्न, करारका ८ कर्मचारीलाई दिइएको महंगीभत्ता १ लाख ९२ हजार असुल गरी राजस्व दाखिला गर्न भनेको छ ।
छैन यातायात गुरुयोजना
रावाबेँसी गाउँपालिकाले यातायात गुरुयोजना तयार नगरी काम गरिरहेको महालेखाले औंल्याएको छ । विगतका वर्षदेखि नै गुरु योजना विनै पालिकाले विभिन्न सडकको स्तरोन्नती, मर्मत, ट्रयाक ओपनिङ लगायतका काम गर्दैआएको प्रतिबेदनमा उल्लेख छ ।

‘स्थानीय तहले आफ्नो कार्यक्षेत्रभित्र आफैले निर्माण गरेका र अन्य निकायले निर्माण गरेका सम्पूर्ण सडकहरुको नक्सांकन एवं अद्यावधिक विवरण (रोड इन्भेन्ट्री) सहितको यातायात गुरुयोजना तयार गरी सोही गुरुयोजनालाई आधार मानी प्राथमिकताको आधारमा योजना छनौट गर्नुपर्ने व्यवस्था छ,’ प्रतिबेदनमा भनिएको छ, ‘सडक निर्माणको कार्यलाई दिगो, प्रभावकारी र बजेट औचित्यपूर्ण प्रयोगको लागि अनिवार्य रुपमा यातायात गुरु योजना तयार गर्नुपर्ने देखिन्छ ।’ हरेक गाउँपालिकाको पुँजिगत खर्चको ठूलो हिस्सा सडक निर्माणमा खर्च भइरहेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत भएका कामको दिगोपना र दिर्घकालिन रोजगारीका विषयमा समेत प्रश्न उठाइएको छ । वर्षमा सय दिन रोजगारी दिने निती अनुसार श्रममा खटाएर ज्याला भुक्तानी गरेको भए पनि निर्माण कार्यको दिगोपना र दिर्घकालिन रोजगारी सिर्जना हुने अवस्था नदेखिएको महालेखाले उल्लेख गरेको छ । सडक, नाली, खानेपानी तथा ढल व्यवस्थानि, पर्यटन, वन तथा सामुदायीक पुर्वाधार कार्यक्रममा १७३ जनालाई दैनिक ५७१ का दरले ८६ लाख ६० हजार ७८४ खर्च भएको प्रतिबेदनमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७