एमाले जबरालाई जोगाउन लागिपरेको छ : हरिबोल गजुरेल


२२ श्रावण २०७९, आईतवार
Haribol Gajurel RSS1627035945

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद हरिबोल गजुरेलले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई जोगाउन लागेको आरोप लगाएका छन् ।

आज (आइतवार) प्रतिनिधि सभा बैठकमा प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग प्रस्तावमाथि छलफलका क्रममा बोल्दै सांसद गजुरेलले एमाले प्रधानन्यायाधीशलाई जोगाउन लागेको बताएका हुन् । उनले महाअभियोग पारित गर्न दुई तिहाइ चाहिने र त्यसका निम्ति प्रतिपक्षको सहयोग आवश्यक पर्ने उल्लेख गर्दै प्रतिपक्ष दल पारित गराउन नलागेको बताए ।

प्रतिपक्षले जबरालाई जोगाउने गरी बोल्दा जनताको नजरबाट गिर्ने डरले उसले जिब्रो चपाएर कुरा गरेको सांसद गजुरेलको आरोप छ ।

उनले भने, ‘सत्तापक्ष, प्रतिपक्ष सबै एक ठाउँमा आएर यसलाई छिटोभन्दा छिटो गरौँ भन्नेमा सहमति दिनुपछ । दुई तिहाइ नभइ त यो पारित हुँदैन । प्रतिपक्षले सहयोग नगरि पारित हुँदैन । तर आज प्रतिपक्ष जिब्रो चपाएर कुरा गरिराखेको छ । यहाँ सोझै बोल्न गाह्रो छ । प्रतिपक्ष जोगाउन चाहिराखेको छ । सोझै बोल्दा जनताको नजरमा आफ्नो पार्टीको छवि, व्यक्तिको छवि गिर्छ भन्ने प्रतिपक्षलाई छ ।’ सांसद गजुरेलले महाअभियोगको विषयमा सत्तापक्ष र प्रतिपक्ष एकै ठाउँमा उभिन नसक्नु दुःखद भएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७