लोसपाका नेताहरुले प्रधानमन्त्रीलाई भेट्दै, सरकारमा सामेल र मुद्दा फिर्ता एजेण्डा


२२ श्रावण २०७९, आईतवार
losapa meetin
फाइल फोटो

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संसदीय दलको बैठक सकिएको छ । बैठकले चुनावी तालमेलका लागि दलहरूसँग छलफल गर्ने अधिकार लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ ।

बानेश्वरस्थित संसद भवनमा बसेको लोसपा संसदीय दलको बैठकमा चुनावी गठबन्धनको विषयमा छलफल भएको थियो । अहिलेसम्म कुनै दलसँग गठबन्धन गर्ने भनि छलफल तय नभएको र छलफल गर्ने सम्पूर्ण अधिकार पार्टी अध्यक्ष ठाकुरलाई दिएको उक्त पार्टीका सांसद अकवाल मियाँले बताए । गठबन्धनको बारेमा छलफल गर्ने जिम्मेवारी पाएका अध्यक्ष ठाकुरले आजै प्रधानमन्त्री देउवासँग भेट्न लागेको सांसद मियाँले जानकारी दिएका छन् । आइतबार अपराह्न ४ बजे ठाकुरसहितका नेताहरुले प्रधानमन्त्री देउवालाई भेट गर्न लागेका हुन् ।

लोसपा नेता शरदसिंह भण्डारीका अनुसार सरकारमा सामेल र मुद्दा फिर्ता छलफलका एजेण्डा रहेका छन् । लोसपाले आगामी निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेर जाने मनस्थिति बनाएको छ । सोही कारण अहिलेको सरकारमा लोसपालाई सहभागी हुन प्रधानमन्त्री देउवाले आग्रह गर्दै आएका छन् ।

आजको भेटमा ठाकुरले मधेस आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना नेता-कार्यकर्ताविरुद्ध लगाइएको मुद्दा फिर्ता गर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्ने भएका छन् । नागरिकता विधेयक संसदबाट पास गरेकाले वर्तमान सरकारमा सहभागी बन्न लोसपा लचक देखिएको छ । यसअघि पटकपटक लोसपा शीर्ष नेता र प्रधानमन्त्री देउवाबीच छलफल भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७