एक साताभित्र प्रहरी समायोजन गर्न प्रधानमन्त्रीलाई ‘अल्टिमेटम’, नभए आन्दोलन


२२ श्रावण २०७९, आईतवार
madhes police

जनकपुरधाम । मधेस सरकारले एक साताभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रदेश प्रमुखमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।

गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह नेतृत्वमा मन्त्रीहरुसहितको टोलीले प्रदेश प्रमुख हरि शंकर मिश्रमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अल्टिमेटम’ सहितको ध्यानाकर्षण पत्र बुझाएको हो ।

नेपालको संविधानको धारा २६८ ले प्रदेश प्रहरी संगठनको व्यवस्था गरेको तथा अनुसूची ६ को क्रम संख्या १ मा प्रहरी, शान्ति सुरक्षासम्बन्धी अधिकार प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहे पनि प्रहरी समायोजन नहुँदा प्रदेश सरकारले सरकारको अनुभूति गर्न नसकेको हुँदा अविलम्ब प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न आग्रह गरिएको छ ।

प्रहरी हस्तान्तरणको लागि प्रधानमन्त्रीलाई यसअघि नै ज्ञापनपत्र समेत बुझाइसकेको स्मरण गराउँदै मधेस सरकारले एक साताभित्र प्रहरी समायोजन नगरिए शान्तिपूर्ण अहिंसात्मक आन्दोलन थाल्ने चेतावनी समेत दिइएको छ । मधेस सरकारको आयोजनामा जनकपुरधाममा सम्पन्न ६ वटा प्रदेशका गृहमन्त्रीस्तरीय भेलाले यथाशिघ्र समायोजन हुनुपर्ने मागसहितको घोषणा पत्र समेत जारी गरेको थियो ।

ध्यानाकर्षण पत्र बुझाउने टोलीमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, कृषिमन्त्री विजयकुमार यादव, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, खानेपानी तथा उर्जामन्त्री ओम प्रकाश शर्मासहित सहभागी थिए । ध्यानाकर्षण पत्र बुझदै प्रदेश प्रमुख मिश्रले आजै प्रधानमन्त्री कार्यालयमा पठाउने जानकारी गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७