दोर्दी-१ जलविद्युत आयोजना निर्माण सकियो, प्रशारण लाइन नहुँदा विद्यु्त उत्पादन रोकियो


२२ श्रावण २०७९, आईतवार
received 1418726045195922

लमजुङ । लमजुङको दोर्दी खोलामा निर्माणाधीन दोर्दी-१ जलविद्युत आयोजना निर्माण सकिएको छ । दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडद्वारा प्रवर्द्धिधत १२ मेगावाटको उक्त आयोजनाले विद्युत उत्पादन परीक्षण समेत गरिसकेको छ । तर, प्रशारण लाइन नहुँदा नियमित विद्युत उत्पादन भने गर्न पाएको छैन ।

हाल व्यावसायिक विद्युत उत्पादनका निम्ति प्रशारण लाइनको प्रतीक्षामा रहेको आयोजना प्रमुख उज्ज्वल सिलवालले बताए । यसअघि चैत २०७६ मा आयोजना निर्माण पूरा गर्ने भनिए पनि दोर्दी खोलामा आएको बाढी र कोभिड-१९ को प्रभावसँगै सरकारले जारी गरेको लकडाउनका कारण निर्माण अवधि लम्बिएको हो । आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने १३२ केभी कीर्तिपुर सबस्टेसनमा जोडिने छ । सबस्टेसनसम्म आवश्यक साढे तीन किलोमिटर लामो प्रशारण लाइन आयोजना आफैले निर्माण गरिसकेको छ ।

प्रचलित नियमावलीअनुसार ऊर्जा मन्त्रालयबाट विद्युत उत्पादन अनुमतिपत्र लिएर प्राधिकरणसँग १०.३ मेगावाट विद्युत खरिद सम्झौता गरेको छ । पीपीएमा सहमतिअनुसार सुख्खायाम पुसदेखि ८ चैतसम्म ८ रुपैयाँ ४० पैसा र बाँकी समय हिउँदमा चार रुपैयाँ ८० पैसामा खरिदमूल्य कायम भएको छ । पीपीएदर पाँच वर्षसम्म प्रत्येक वर्ष तीन प्रतिशतले बढ्ने सम्झौतामा उल्लेख छ ।

२०७४ सालबाट सुरु भएको सो आयोजना सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्न दुई अर्ब २९ करोड रुपैयाँ खर्च अनुमान गरिएको छ । आयोजनामा सानिमा बैंकको अगुवाइमा पाँच वटा बैंकले ऋण लगानी गरेका छन् । विद्युत उत्पादनका निम्ति दोर्दी करिडोरअन्तर्गत १३२ केभी प्रसशरण लाइनमार्फत कीर्तिपुर सबस्टेशनमा जोडिएको छ ।

तर, गत वर्षको बाढीका कारण प्रशारण लाइन पुनर्निर्माण नहुँदा आयोजनाले विद्युत उत्पादन गर्न नपाएको हो । तत्कालका लागि मर्स्याङ्दी करिडोरअन्तर्गतको २२० केभी प्रशारण लाइनअन्तर्गत उदिपुर सबस्टेसनमा जोड्ने तयारी गरे पनि सो प्रशारण लाइन पनि निर्माण नसकिएकाले आयोजनाले विद्युत उत्पादन गर्न नपाएको आयोजना प्रमुख सिलवालले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७