‘नेपालीहरु नकारात्मक कुरामा रमाइलो मान्छन्, जापानमा हिरोसिमा बम घटना बिर्सिसकिएछ’

‘अहिले नै नेपाल फर्केर आउनु भन्ने अवस्था छैन’


२२ श्रावण २०७९, आईतवार
prachanda at japan visit JizC7erYNd

टोकियो । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालीहरुहरुमा नकारात्मक कुरा गर्दा रमाइलो मान्ने प्रवृति बढेको भन्दै गुनासो पोखेका छन् ।

‘समृद्ध नेपालको आधार : आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई आज (आइतबार) जापानको राजधानी टोकियोमा सम्बोधन गर्दै प्रचण्डले यस्तो गुनासो सुनाएका हुन् । पाँच दिने जापान भ्रमणमा रहेका प्रचण्डले १० वर्षे जनयुद्धतिर लक्षित गर्दै अझै पनि त्यसलाई लिएर आफूहरुले गाली खाइरहनु परेको बताए ।

‘हाम्रो समाज अहिले पनि नकारात्मक सोच राख्ने र नकारात्मक कुरा गर्दा रमाइलो मान्ने छ’, उनले भने, ‘हिरोसिमामा बम हानेको ठाउँ मैले आज हेरें । यत्रो दुर्घटना र यत्रो हत्या हुँदा त जापानीको मनमा के होला ? मनोभावना कस्तो होला ? भनेर सोधें । तर जापानीहरुमा कुनै विद्वेष छैन । त्यो बेलाको परिस्थिति त्यस्तै थियो । अब हामीले मिहिनेत गरेर विकासमा केन्द्रित हुनुपर्छ भनियो ।’

prachanda japan

उनले तर नेपालमा भने असाध्यै नकारात्मक सोच्ने मानिसहरु रहेको भन्दै दुखेसो पोखे । उनको यो भनाइ आफूहरुले गरेको जनयुद्ध र त्यसपछि आफूहरुमाथि लगाइने लाञ्छनाप्रति लक्षित थियो । यसैबीच ‘प्रचण्ड’ ले कृषि क्षेत्रले नै नेपाललाई समृद्ध र आत्मनिर्भर बनाउने बताएका छन् । विद्युत र पर्यटनसँगै कृषि आर्थिक विकासको प्रमुख आधार भएको उनको भनाइ थियो ।

जापानको पाँच दिने भ्रमणमा रहेका अध्यक्ष प्रचण्डले नेपाली समुदायसँग अन्तरक्रियाको क्रममा यस्तो बताएका हुन् । उनले अहिलेको सरकारले पनि कृषि क्षेत्रलाई प्राथमिकता दिएको बताएका थिए । प्रचण्डले भने, ‘अहिले नेपाल सरकारको नीति कार्यक्रम बनाउँदै गर्दा र बजेटबाट पनि नेपाल कता लैजाने भनिरहँदा कृषिको आधुनिकीकरण र यान्त्रिकरण तथा यसको औद्योगिक विकासमा मेरो ध्यान छ ।’

तर देशको विकासमा विदेशमा रहेका नेपालीको महत्वपूणर् भूमिका हुने बताउँदै उनले उनीहरूलाई नेपालमा फिर्ता बोलाउने अवस्था अहिले नै बनिनसकेको बताएका छन् । जापानमा रहेका नेपालीहरूलाई अहिले नै स्वदेश फर्किएर आउनु भन्ने अवस्था नरहेको भन्दै प्रचण्डले केही समयपछि उनीहरूलाई स्वदेश फर्काउने योजना रहेको बताए । यसका लागि आफूहरूले नेपालमा राजनीतिक स्थायित्व र स्थिरताको वातावरण बनाउँदै गरेको उनलेले बताए ।

प्रचण्डले बलियो राजनीतिक केन्द्र बनाएपछि आधिकारिक रुपमा विदेशमा रहेका नेपालीलाई फिर्ता बोलाउने दिनको ब्यग्र प्रतिक्षामा रहेको बताए । ‘अझै मैले तपाईहरूलाई ल नेपाल आउनुहोस् भन्ने अवस्था छैन । तपाईहरूलाई प्रष्ट रुपमा भन्नुपर्दा, राजनीतिक स्थायित्व र सुशासनको मोडालिटीलाई प्रोमोट गर्ने वातावरण बनाइसकेपछि र बलियो राजनीतिक केन्द्र बन्यो भन्ने सन्देश दिएर म फेरि तपाईहरू समक्ष आउने छु र आधिकारिक रुपमा तपाईहरूलाई अब तपाईहरूको सबै तागत नेपालमा लगाउनु भन्ने छु । जो जहाँ भए पनि नेपालको विकास यात्रामा तपाईको सहभागिता चाहियो भन्ने दिन आउँछ । म ब्यग्रतापूर्वक त्यो दिनको प्रतिक्षामा छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७