कर्णालीका चार ठाउँमा नयाँ शहर, पूर्वाधारको काम छैन सन्तोषजनक


२३ श्रावण २०७९, सोमबार
karnali

सुर्खेत । कर्णालीका चार ठाउँमा नयाँ शहर निर्माण कार्य जारी रहेको छ । आर्थिक वर्ष २०६८/०६९ मा घोषणा गरेर कर्णालीका दुई ठाउँमा नयाँ शहरको काम भइरहेको थियो । फेरि सरकारले आर्थिक वर्ष २०७९/८० मा दुई दुई वटा नयाँ शहर निर्माण गर्ने निणर्यसँगै कर्णालीमा चार ठाउँमा नयाँ शहर निर्माणको काम चलिरहेको छ ।

दैलेखको आठबीस नगरपालिकामा पर्ने राकम कणर्ाली र रुकुम-पश्चिमको चौरजहारीलाई नयाँ शहर घोषणा गरिएसँगै काम सुरु भएको थियो । तोकिए अनुसारको पूर्वाधारको काम सन्तोषजनक नभएको पाइएको छ । दैलेखको राकम र रुकुम-पश्चिमको चौरजहारीलगायत देशभरका थुप्रै ठाउँमा नयाँ शहरका पूर्वाधार निर्माणको काम अलपत्र परिरहेका बेला सरकारले चालु आर्थिक वर्षदेखि फेरि हिमाली जिल्लाका १० स्थानमा नयाँ शहर निर्माण गर्ने अवधारणासहित बजेट विनियोजन गरेको हो ।

कर्णालीको हुम्ला सिमकोट र डोल्पाको दुनैमा हिमाली शहरका लागि पूर्वाधार निर्माण गरिन लागेको छ । सहरी आयोजना समन्वय कार्यालयका अनुसार त्यसका लागि आवश्यक गुरुयोजना समेत तयार गरी काम सुरु गर्न लागिएको छ । प्रदेशसभा सदस्य बीरबहादुर शाहीले हिमाली क्षेत्रका बजारहरूलाई सुविधा सम्पन्न शहरका रूपमा विकास गर्ने योजना आउनु राम्रो पक्ष भएको भन्दै त्यसका लागि बजेटको सुनिश्चितता र पूर्वाधार निर्माणमा सोहीअनुरूप ध्यान दिइनुपर्ने बताए ।

योजना घोषणा गर्ने तर समयमा काम सुरु नगर्ने सरकारको पुरानै समस्या भएकोले रहेको भन्दै शाहीले हिमाली र पहाडी क्षेत्रमै आधुनिक सहरको परिकल्पना गर्नु आफैंमा सकारात्मक कुरा हो । यसका पूर्वाधार निर्माणमा पर्याप्त बजेटको व्यवस्था गरी काम थाल्नुपर्छ ।

हिमाली र पहाडी क्षेत्रबाट शहरी क्षेत्र तथा तराईतर्फ बसाइँसराइ गर्ने क्रम बर्सेनि बढ्दै गएको छ । त्यहाँ बसोबास गरिरहेका मानिसहरूलाई त्यहीँ बस्न सक्ने वातावरण बनाउन नयाँ शहर विस्तार गर्ने नीति अघि सारिएको नयाँ सहरी आयोजना समन्वय कार्यालयका निर्देशक रोशन श्रेष्ठले बताए । तराई तथा सहरी क्षेत्रमा बढ्दो बसाइँसराइ कम गरी विभिन्न क्षेत्रमा नयाँ र आधुनिक सहर विकास गर्ने रणनीति सरकारले लिए पनि योजनाअनुसार काम हुन सकेको छैन ।

सरकारले चालु आर्थिक वर्षमा घोषणा गरेका नयाँ शहर हिमाली क्षेत्रको संस्कृति, परम्परा झल्किने गरी विकास गर्ने गरी गुरुयोजना तयार गरेको छ । नयाँ शहरी आयोजना समन्वय कार्यालयका निर्देशक श्रेष्ठका अनुसार शहरीकरणमार्फत् स्थानीय मौलिकतालाई जोगाउँदै त्यहाँको रैथाने उत्पादनलाई बजार उपलब्ध गराउने विषय हिमाली शहरको गुरुयोजनामा समेटिएको छ ।

सरकारले हुम्लाको सिमकोट, डोल्पाको दुनै, सोलुखुम्बुको लुक्ला, रसुवाको स्याफ्रुँवेशी, मुस्ताङको जोमसोम, बाजुराको मार्तडी, ताप्लेजुङको फुङलिङ, संखुवासभाको किमाथांका, मनाङको चामे र बाजुराको कोल्टीमा गरी १० नयाँ हिमाली शहर निर्माणका लागि गुरुयोजना बनाएको छ । हिमाली शहरहरू प्रदेशअनुसार छनोट गरिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७