आर्यनको ‘कमव्याक’, चलचित्र सायरामा अनुबन्धित


२३ श्रावण २०७९, सोमबार
aryan sigdel kF95hsPSCX

काठमाडौं । लामो समयपछि ‘कमव्याक’ गर्दै अभिनेता आर्यन सिग्देल नयाँ फिल्ममा अनुबन्धित भएका छन् ।
नेपाली फिल्ममा अभिनय गर्न सक्ने चकलेटी लुक्स भएका आर्यनले अभिनय गर्न लागेको नयाँ फिल्म हो , ‘सायरा’ । उनले आइतबार मात्र निर्माण कम्पनि डि.बि.आर. मिडिया एण्ड मुभिज प्रा.ली सँग फिल्म गर्ने लिखित सम्झौता गरेका हुन् ।

रघु परियार प्रस्तुतकर्ता रहेको फिल्म सोसल ड्रामा र लभ स्टोरीमा तयार हुनेछ । पछिल्लो समय पर्दामा नदेखिएका आर्यन फिल्मको विषयवस्तुले आकर्षित भएका हुन् । उनले सुहाउँदो क्यारेक्टर पाएपछि फिल्म गर्ने सम्झौता गरेका हुन् । आउँदो असोजबाट छायांकन गर्ने तयारीमा रहेको फिल्म ‘सायरा’ को ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत नेपालमा हुनेछ । फिल्मका प्रस्तुत कर्ता रघुले दसैँ र तिहारमा छायाँकनको तयारी भइरहेको बताए ।

‘फिल्ममा सोसल ड्रामासँगै प्रेम कथा देखाइने छ । हाम्रो भूमिकालाई सुहाउँदो भएकाले आर्यनजीलाई अनुबन्धित गरेका हौँ । उहाँ पनि भूमिकालाई लिएर उत्साहित हुनुहुन्छ’ रघुले भने । उनले फिल्मको अन्य कास्ट एण्ड क्रिउको बारेमा केहि समयमै जानकारी दिने बताए । फिल्ममा कथा उनकै रहेको छ । निर्देशन भने उनले भारतीय रहने बताए । ‘हामीले लाइन-अप पुरा भएपछि पूणर् रुपमा जानकारी दिने छौँ। निर्देशक बलिउडमा काम गरिरहेका भारतीय नै हुनेछन् । उहाँलाई अनुबन्धित गरेपछि जानकारी गराउने छौँ’ प्रस्तुतकर्ता रघुले बताए ।

उनले फिल्मको कथावस्तु अनुसार नै डायस्पोरामा छायांकन गर्न लागिएको बताए । फिल्मको अधिकाँस छायांकन अष्ट्रेलियाको सिड्नीमा हुनेछ भने केहि प्रतिशत मेलवर्नमा समेत गरिने उनले जनाए । पर्दामा लभ स्टोरीलाई जीवन्त बनाउन माहिर मानिने आर्यनले केहि समय अगाडि निर्माण तथा अभिनय गरेको फिल्म ‘कायारा’ झैँ सुनिने उस्तै नाम भएको ‘सायरा’ मा काम गर्ने तयारी गर्न लागेका हुन् । केही फिल्मको तयारीमा रहेका आर्यनले यो फिल्म आउँदो दसैँ र तिहारको समयमा छायांकन गर्ने गरी तयारी गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७