नक्कली युरेनियम प्रकरण : पक्राउ परेकालाई छुटाई दिने भन्दै रकम असुली


२३ श्रावण २०७९, सोमबार
ureniyam

मोरङ । नक्कली युरेनियम बिक्रीको तयारी गर्दैगर्दा विराटनगरबाट पक्राउ परेकालाई छुटाई दिने भन्दै रकम असुली गरेको खुलेको छ । मोरङ प्रहरीले नक्कली युरेनियम प्रकरणमा १५ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये मकवानपुरको बागमती गाउँपालिका-५ का ३६ वर्षीय दीपकबहादुर भ्लोनका परिवारसँग रकम असुली गरिएको पाइएको हो ।

दीपककी पत्नीसँग सर्लाहीको कविलासपुर नगरपालिका-९ की ३० वर्षीया प्रमिला यादवले ७५ हजार रूपैयाँ लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरी हिरासतमा रहेका दीपकलाई छुटाइदिने भन्दै रकम लिएको खुलेपछि प्रमिलालाई पक्राउ गरेर अनुसन्धानको प्रक्रिया अघि बढाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् । प्रहरीले उनीविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाउन गत शुक्रबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको हो ।

प्रमिला पक्राउ परेका अर्का अभियुक्त महोत्तरीको मनराशिसबा नगरपालिका-३ का ४९ वर्षीय उमेशप्रसाद यादवलाई भेट्न जिल्ला प्रहरी कार्यालय मोरङमा पुगेकी थिइन् । उमेश आफ्नो भिनाजु भएको प्रमिलाले बताइन् । भेटघाटका क्रममा यादवसँगै हिरासतमा रहेका दीपकसँग उनको चिनजान भएको डीएसपी श्रेष्ठले जानकारी दिएका छन् ।

श्रेष्ठका अनुसार दीपककी पत्नीलाई भेटेर प्रमिलाले पैसा दिएमा हिरासतबाट छुटाइदिने आवश्वासन दिएको खुलेको छ । प्रहरीलाई खुवाउनुपर्ने भन्दै सुरुमा प्रमिलाले एक लाख ५० हजार रूपैयाँको ‘बार्गेनिङ’ गरेको उनले बताए । उनका अनुसार ‘बार्गेनिङ’का क्रममा ७५ हजारमा कुरा मिलेको पाइयो । ‘दीपकलाई हिरासतमुक्त गरिदिने असुली गरेको खुलेपछि प्रमिलालाई पक्राउ गरिएको हो,’ डीएसपी श्रेष्ठले भने, ‘आफूले पैसा दिएको कुरा दीपककी पत्नी आफैँले सुनाएपछि घटना बाहिर आयो ।’

उनका अनुसार प्रमिलाले पनि ७५ हजार लिएको स्वीकार गरिसकेकी छन् । युरेनियमको आशंकामा विराटनगरबाट बरामद गरिएको वस्तु भने नक्कली रहेको पुष्टि भइसकेको छ । खानी तथा भूगर्भ विभागले उक्त वस्तु युरेनियम नभएको रिपोर्ट प्रहरीलाई उपलब्ध गराएको हो । प्रहरीले साउन १ र ३ गते विराटनगरका अलगअलग स्थानबाट दुई किलोग्रामभन्दा बढी नक्कली युरेनियम बरामद गर्दै दुईवटा समूहलाई पक्राउ थियो ।

युरेनियम भनेर बिक्रीको तयारी गर्दैगर्दा साउन १ गते विराटनगर-९ ट्राफिक चोकबाट उक्त वस्तु एक किलो ८७.३ ग्रामसहित आठ जना पक्राउ परेका थिए । विराटनगर महानगरपालिका-३ दूधफारमनजिकबाट साउन ३ गते नौ सय ७८.६ ग्रामसहित सात जना पक्राउ परे ।

दुई दिनअघिपछि गरेर पक्राउ परेका १५ जनाविरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएको थियो । मुद्दा चलाइएकाहरु जिल्ला प्रशासन कार्यालय मोरङको आदेश अनुसार धरौटीवापतको रकम बुझाएर छुटिसकेका छन् । सात जना शुक्रबार जनही पाँच हजार र आठ जना आइतबार जनही सात हजार रूपैयाँ धरौटी बुझाएर छुटेको जिल्ला प्रशासन कार्यालय मोरङका नायव शुब्बा रमेशकुमार निरौलाले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७