सिसडोलकै फोहरले रोक्दैछ बञ्चरेडाँडाको बाटो


२३ श्रावण २०७९, सोमबार
sisdol

काठमाडौँ । असार महिना लागे यता सिसडोलकोे फोहरको पहाडबाट लेदोसहित पहिरो खस्दा फोहर बोक्ने सवारीसाधन जाने सडक अवरुद्ध भइरहेको छ ।

नुवाकोट र धादिङको सीमामा पर्ने बञ्चरेडाँडामा निर्माण भएको अत्याधुनिक फोहरमैला व्यवस्थापन केन्द्र (ल्याण्ड फिल्ड साइट) सम्म फोहर लैजानका लागि यसअघि फोहर विसर्जन गरिँदै आइएको साइट सिसडोलको बाटो भएरै जानुपर्छ । गत जेठ महिनाबाट उपत्यकाको फोहर सिसडोलबाट दुई किलोमिटर टाढा पर्ने बञ्चरेडाँडामा विसर्जन हुँदै आएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बञ्चरेडाँडामा केन्द्रमा फोहर विसर्जन गर्न थाल्दा काठमाडौँ उपत्यकावासीमा फोहरको समस्या स्थायी समाधान हुने आशा पलाएको थियो । अघिल्ला वर्षहरुमा सिसडोल भरिएर नियमित रुपमा फोहर नउठेकाले नयाँ केन्द्रमा नियमित उठ्ने धेरैले अपेक्षा गरेका थिए । तर सिसडोलको फोहरमैलाको पहाडले नै नयाँ केन्द्रसम्म फोहर लैजान अवरोध सिर्जना गरिरहेको छ । सडकको खराब अवस्था र पटक पटक विभिन्न माग राख्दै हुने स्थानीयवासीको आन्दोलनका कारण काठमाडौँको फोहर नियमित नउठेको पाइन्छ । अहिले पनि गाडीले धुलो उडायो र फोहरबाट दुर्गन्ध आयो भनी स्थानीयवासीले दैनिक चार/पाँच घण्टा अवरोध गरिरहेको काठमाडौँ महानगरपालिका, वातावरण विभागकी प्रमुख सरिता राईले बताइन् ।

city
ncll 2

उपत्यकाबाट फोहर तारकेश्वर नगरपालिका, ककनी नगरपालिका र धुनीबेसी नगरपालिका हुँदै बञ्चरेडाँडा जानुपर्छ । खासगरी त्रिशुली-बालाजु सडकको निर्माण आठ वर्ष पहिले सुरु भएर पनि अझै अलपत्र भएकाले यसको निर्माण चाँडो सक्न भन्दै पटक पटक आन्दोलन भइरहेको छ । दुई प्याकेजमा निर्माण अघि बढाइएकामा दुवै खण्डमा ठेक्का तोडिइसकिएको सडक विभागले जनाएको छ । एउटा ठेक्कामा अदालतबाट अन्तिम निणर्य आइसकेकाले नयाँ ठेक्कामा जान सकिने भए पनि अर्को ठेक्काको मुद्दामा अदालतले अन्तरिम आदेश दिएको थियो । सडक चाँडो बनाउन माग गर्दै पटक पटक आन्दोलन हुँदा फोहरको गाडी रोकिने गरेको छ ।

jagdamba.cement
nepal liquors

तिनपिप्लेबाट सिसडोल हुँदै बञ्चरेडाँडासम्मको सडकको मर्मतको काम शहरी विकास तथा भवन निर्माण विभागलाई जिम्मेवारी दिइएको थियो । विभागले केही समय पहिले मात्रै ठेक्का लगाएर अहिले काम भइरहेको छ । विभागले जिम्मेवारीमा तीनपिप्लेबाट सिसडोसम्म छ किमी र सिसडोलबाट तीन किमी सडक रहेको छ ।

सिसडोलको फोहरभन्दा उता सडक राम्रो अवस्थामा रहेको प्रमुख राईले बताइन् । सिसडोडमा दुई सय मिटर सडकमा समस्या रहेको छ । अहिले फोहरमाथि ग्याबिन वाल बनाएर सवारीसाधन जान सकिने गरी सडक बनाउन लागिएको हो । वर्षाको समयमा सडक हिलोले भासिने समस्या रहेको उनले बताइन् । उनले भनिन्, ‘सडक साँघुरो छ । फोहरको डङ्गुर माथि लैजानु पर्छ ।’

नयाँ केन्द्रमा फोहर लैजानका लागि पनि सोही सडक समस्याका रुपमा रहेको छ । हाल प्रयोग भइरहेको सडक बनाइने र वैकल्पिक बाटोको बारेमा पनि कुराकानी भइरहेको प्रमुख राईले बताइन् । पहिले निर्माण गर्दा यो सडक पनि बस्तीभन्दा बाहिर बनाइएको भए पनि बाटो बनेपछि बस्ती आएको उनले बताइन् । उनले भनिन्, ‘फोहर लैजानकै लागि छुट्टै बनाइएको सडक भए पनि सडक छेउछाउ व्यापार व्यवसाय गर्न पनि बस्ती बढ्नु स्वभाविक हो ।’

कहिले स्थानीयवासीको अवरोधका कारण त कहिले सडक मर्मत भइरहँदा फोहर नियमित जान सकिरहेको छैन । दैनिक चार/पाँच घण्टा रोकिँदा पनि काठमाडौँमा फोहर प्रभावित हुने र समस्या बढ्ने उनले बताइन् । उपत्यकाबाट शनिबार २४३ ट्रक, शुक्रबार १७० ट्रक र बिहिबार २४० ट्रक फोहर बञ्चरेडाँडा लगिएको थियो । उनले भनिन्, ‘बञ्चरेडाँडासम्म पुग्न धेरै अवरोध पार गर्दै जानुपर्छ ।’

स्थानीयवासीको समस्या सम्बोधनका लागि महानगरपालिकाले दैनिक रुपमा ट्याङ्करबाट सडकमा पानी हाल्दै आएको छ । पानी परेको दिनमा पानी हालिरहेको उहाँले बताउनुभयो । सिसडोलमा फोहर विसर्जन गर्दादेखि नै वर्षाको समयमा उपत्यकामा फोहरको समस्या बढ्ने गरेको हो । पहिलो सिसडोलमा लैजाँदा र अहिले बञ्चरेडाँडामा लैजाँदा सडकको समस्या करिबकरिब उस्तै रहेको प्रमुख राईले बताइन् । गत वर्षहरुमा सिसडोलमा केन्द्र भरिएपछि त्यही फोहरबाट गाडी चढेर जानुपर्दा वर्षामा समस्या हुने गरेको थियो । त्यतिबेला क्षमताभन्दा बढी फोहर हुँदा फोहरको पहाड चढेर ट्रकमाथि जानुपर्ने अवस्था थियो । अहिले त्यही फोहरको बीचबाट खुलेको सडकबाटै लानुपर्दा समस्या उस्तै भएको हो ।

विभागले तीनपिप्ले-सिसडोल सडकमा मर्मत गरेर तत्कालका लागि सवारीसाधन चालु गर्नुपर्ने भएकाले मर्मतको काम भइरहेको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रामचन्द्र दङ्गालले बताए । खाल्डाखुल्डी रहको ठाउँमा टाल्ने र ग्याबिन जाली हाल्ने र कतिपय स्थानमा ढलान गरिरहेको उनले बताए । मर्मत गर्दा कहिलेकाहीँ सवारीसाधन आवागमन नै रोक्नुपर्ने हुनसक्ने उनको भनाइ छ । उनले भने, ‘सडक ढलान गर्दा एक/दुई दिन नै गाडी चलाउन नमिल्ने हुन्छ ।’

विभागले नै बञ्चरेडाँडामा अत्याधुनिक फोहरमैला प्रशोधन केन्द्र निर्माण गरेको हो । एउटा खण्डमा सम्पन्न भएपछि गत जेठबाठ नै फोहर बिर्सजन थालिएको थियो । अर्को खण्डमा पनि काम अन्तिम चरणमा पुगेको महानिर्देशक दङ्गालले बताए । उनका अनुसार अहिले वर्षाका कारणले थोरै काम मात्रै गर्न बाँकी छ । उनले भने, ‘घाम लागेपछि केही दिन काम गरेपछि नै सम्पन्न हुन्छ र हामीले हस्तान्तरण गर्न सक्नेछौँ ।’

उपत्यकामा जताततै थुप्रिएको फोहर तत्काल व्यवस्थापनका लागि बञ्चरेडाँडा जाने सडक बनाउनुपर्ने भएपनि दीर्घकालीन समाधानका लागि स्रोतबाट नै व्यवस्थापन गर्नुपर्ने वातावरण विज्ञ प्रकाश अमात्यले बताए । फोहरको गाडी बस्तीबाटै जाँदा बस्तीमा नै समस्या हुने भएकाले त्यसका लागि शहरबाट नै छुट्टै सडक बनाउनुपर्नेमा उनको जोड छ ।

बाटो बनाएर ट्रकमा काठमाडौँको फोहर लैजाँदैमा फोहर व्यवस्थापनको दीर्घकालीन समाधान नहुने अमात्यको भनाइ छ । अहिले हामीले जसरी फोहर फालिरहेका छौँ त्यसरी नै गर्दा बञ्चरेडाँडा केही वर्षमा भरिने र जति ल्याण्डफिल्ड साइट नयाँ बनाउँदै जाँदा पनि भरिरहने उनको भनाइ छ । उनले भने, ‘दीर्घकालीन रुपमा यसलाई स्रोतमा नै सम्बोधन गर्नुपर्छ ।’

अहिले महानगरपालिकाले केही वडा बाहेक अधिकांश वडामा आफ्ना सवारीसाधन पठाएर फोहर सङ्कलन गरिरहेको छैन । केही निजी संस्थाहरुले उपभोक्तासँग रकम लिएर त्यस बापत फोहर सङ्कलन गरिरहेका छन् । ती संस्थामध्ये धेरै कानुनी रुपमा दर्ता नभएका र महानगरपालिकाले निजीले फोहर सङ्कलन गर्नै वडामा आफ्नो जिम्मेवारी न भएको बताउँदै आएको पाइन्छ ।

निजी सङ्कलन गर्नेले आफै फोहर फाल्ने ट्रक, जनशक्ति र आवश्यक उपकरण व्यवस्थापन गरेर काम गरिरहेका छन् । महानगर वा नगरपालिकाले आफूसँग पर्याप्त उपकरण, सवारीसाधन र जनशक्ति नभएकै कारण ‘म आफै गर्छु’ भनेर पनि आँट गर्न नसकेको उनले बताए । फोहर व्यवस्थापनमा स्थानीय सरकारको हिसाबले जिम्मेवारी स्थानीय तहको भएको र नागरिकले कर तिरिरहेकाले पनि जिम्मेवारी उनीहरुले लिनुपर्ने अमात्यले बताए । उनले भने, ‘अहिले फोहर सङ्कलन गर्ने निजी क्षेत्र कानुनले चिन्दैन । फोहर उठाउन बाध्याकारी छैन ।’”

पूरा हुँदै ‘बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट’
तीन वर्षमै निर्माण सम्पन्न गर्ने भनिएको बञ्चरेडाँडा ल्यान्डफिल साइट झण्डै १७ वर्षपछि मात्रै सम्पन्न हुन लागेको छ । सरकारले उपत्यकाको फोहोर व्यवस्थापन गर्न सरकारले विसं २०६२ जेठमा तीन वर्षभित्र बन्चरेडाँडामा साइट बनाउने निणर्य गरेको थियो । बञ्चरेडाँडामा सामान्य अवस्थामा फोहोर बिसर्जन गर्दा २५ वर्ष र वर्गीकरण गरेर विसर्जन गर्दा कम्तीमा ५० वर्षसम्म उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने विभागले बताउँदै आएको छ ।

सरकारले झण्डै तीन दशक पहिले नै फोहर व्यवस्थापनका लागि उपयुक्तस्थल भन्दै पहिचान गरेको थियो । केही समय काठमाडौँको फोहर गोकणर्स्थिथत ल्यान्डफिल साइटमा डम्पिङ गरिँदै आइएको थियो । अत्यधुनिक ल्यान्डफिल साइट बनाउन तत्कालीन स्थानीय विकास मन्त्रालयअन्तर्गतको फोहरमैला व्यवस्थापन तथा प्राविधिक स्रोत परिचालन केन्द्रले जाइकासँग समन्वय गरेको थियो । बञ्चरेडाँडामा ल्यान्डफिल साइट निर्माण गर्न तीन वर्ष लाग्ने भएपछि त्यतिन्जेल उपत्यकाको फोहर सिसडोलमा व्यवस्थापन गर्न थालियो । झण्डै १७ वर्षसम्म उपत्यकाको फोहर सिसडोलमा व्यवस्थापन गरिएको थियो ।

फोहर बोक्ने सवारीसाधनका लागि ‘डेडिकेटेड सडक’
समय समयमा सडकका कारण फोहर उठ्न नसकेको कुरा हुँदा वा स्थानीयबासीले फोहरका कारण दुर्गन्ध फैलिएको कुरा उठाउँदा ‘डेडिकेटेड’ सडक निर्माणको कुरा पनि उठ्ने गरेको छ । फोहरका गाडी मात्रै बोक्नका लागि छुट्टै सडक हुँदा मानव स्वास्थ्यमा असर कम हुनसक्ने गरी यसमा छलफल भइरहेको हो ।

सडक विभागले सिसडोल-बञ्चरेडाँडा सडक पहिले फोहर विसर्जनकै लागि अहिले प्रयोगमा रहेको सडक ‘डेडिकेडेट’ बनाएको महानगरले जनाएको छ । यो सडक फोहर माथि खण्डबाहेक कालोपत्र भइसकेको छ । सडक बनेसँगै मानव बस्ती बनेकाले अहिले त्यसको वैकल्पिक सडक बनाउने गरी छलफल भइरहेको छ । ओशो तपोबनबाट निकुञ्ज बाटो हुँदै मानव बस्ती नभेटिने गरी सडक बनाउन सकिने बताइएको छ । जहाँ सडक बन्छ त्यहाँ बस्ती बस्न थाल्दा भने बस्ती र फोहर बोक्ने सडक अलग हुन नसक्ने कामपा, वातावरण विभाग प्रमुख राईको भनाइ छ ।

नियमित उठ्दा उपकरण पर्याप्त छ, नियमित नहुँदा कम हुन्छ : महानगर
काठमाडौँ महानगरपालिकाले नियमित रुपमा फोहर उठिरहँदा आफूसँग भएको सवारीसाधन र उपकरण अपर्याप्त नभएको जनाएको छ । लामो समयसम्म थुप्रिएको फोहर ठूलो परिमाणमा एकै पटक उठाउनुपर्दा भने यी सामग्रीको कमी हुने गरेको छ । रासस

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७