दुई तिहाई सांसद हेटौंडाबाट राजधानी सार्ने पक्षमा छौं, सर्छ : लक्ष्मण लम्साल


२० चैत्र २०७४, मंगलवार
laxman lamsal

विद्यालय तहमा अध्ययन गर्दा नै अनेरास्ववियुमा आवद्ध लक्ष्मण लम्साल जुझारु युवानेता हुन् । अनेरास्ववियुमा तल्लो कमिटीदेखि उपाध्यक्षसम्म भएका लम्साल अध्यक्षमा पराजित भएपछि जिल्लाको राजनीतिमा होमिएका हुन् । राजनीतिमा नैतिक मूल्यमान्यतालाई आत्मसात गर्ने लम्साल काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा २ बाट ३ नम्बर प्रदेश सांसदमा निर्वाचित भएका हुन् । लम्सालको अगुवाईमा सांसदहरु रत्न ढकाल र बसुन्धरा हुमागाईले प्रदेश राजधानी काभे्रमा राख्नुपर्र्ने प्रस्ताव ३ नम्बर प्रदेश संसदमा दर्ता गरिसकेका छन् । लम्साल भन्छन्, आवश्यकता, औचित्य र संभावना नै नभएको हेटौंडामा राजधानी राख्नुहुँदैन । सबैलाई सेन्टर पर्ने बनेपामा ३ नम्बरको राजधानी हुनुपर्छ । प्रस्तुत छः सांसद लम्सालसँग गरिएको कुराकानी :laxman lamsal

० तीन नम्बर प्रदेशको राजधानी हेटौंडा किन नहुने, बनेपा कसरी हुने ?
राजधानी हुनका लागि तीन वटा चिज आवश्यकता, औचित्य र संभाव्यता चाहिन्छ । संघीयताको कुरा गर्ने, शक्ति विकेन्द्रीकरणको कुरा गर्ने, राजधानी काठमाडौं नै चाहिन्छ भन्ने भनाइ पनि होइन । भौगोलिक हिसाबले हेर्ने हो भने रामेछापको गुम्देल र रसुवाको भोर्लेका लागि पायक पर्ने ठाउँ काभ्रेको बनेपा हुन्छ । प्रदेशको राजधानी काठमाडौैं उपत्यकाभित्र होइन, बाहिर हुन्छ । आज राज्यलाई तत्काल ब्ययभार नपर्नेगरी प्रदेश राजधानीका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारको विकास पनि काभ्रेमा छ । प्रदेशको राजधानी हुनका लागि चाहिने विश्वविद्यालय छ । चीन र भारतलाई जोड्ने दुई वटा राजमार्ग छन् । ब्यापक संभावना भएको ठाउँ छ । भ्यालीभित्रको जुन कोलाहल छ, त्यसलाई डाइभर्ट गर्न पनि काभ्रेमा राजधानी हुनुपर्छ ।
हेटौंडा जस्तो पल्लो छेउको कुनामा राजधानी राखेर कसरी समन्वयमा काम हुन्छ ?

० सबै अधिकार स्थानीय तहलाई दिएको छ, प्रदेशमा खासै जनताका काम हुँदैनन्, प्रदेशको राजधानी जहाँ भए पनि के हुन्छ र ?

– जनताले मत दिएर जिताएका प्रतिनिधि हुन् प्रदेशका सांसद । के प्रदेशका सांसद चन्द्रमाबाट आएका हुन् ? जनताकै काम गर्न हामी आएका हौं । जनताले मत दिएर काम गर्न पठाएका हुन् । जनताका प्रतिनिधिलाई सुगमता चाहिंदैन ? नियम कानुन, विकास निर्माण सबै कुरा गर्नका लागि सरकारसँग मिलेर काम गर्नुपर्छ । त्यसका लागि राजधानी सही ठाउँमा हुनुपर्छ कि पर्दैन ? कामको संयोजन गर्ने ठाउँमा चाहिन्छ ।

० मुख्यमन्त्री डोरमणि पौडेल राजधानी सार्न मिल्दैन भन्दै हुनुहुन्छ ?
– मुख्यमन्त्रीले राजधानी सार्न मिल्दैन भनेको मैले सुनेको छैन । राजधानी मुख्यमन्त्रीले राख्ने वा सार्ने भन्ने कुरा होइन, प्रदेशसभाको दुई तिहाई सांसदले जहाँ भन्छन् त्यहीँ राख्ने हो । कानुनमा ब्यवस्था त्यही छ । मुख्यमन्त्री, मन्त्री वा सांसदले भनून् राजधानी सार्नुपर्छ ।

० हेटौंडाबाट राजधानी सार्दा एमालेलाई घाटा हुन्छ भन्ने कोणबाट पनि कुरा आइरहेको छ ?
– बाँकी १२ वटा जिल्लामा चाहिँ नाफा हुन्छ ? रसुवामा एमाले छैन, नुवाकोट, काभ्रे, रामेछाप, दोलखामा एमाले छैन ? कहाँ छैन एमाले ? मकवानपुरका कुनै पनि एमाले नेता, कार्यकर्ता वा जनतालाई सोध्नुस् कसैले पनि हेटौंडा राजधानी हुनुपर्छ भन्ने औचित्य पुष्टी गर्न सक्दैनन् । आवश्यकताका आधारमा पनि होइन, औचित्यका आधारमा र संभावनाको आधारमा पनि हुनसक्दैन ।

० राजधानी काभ्रे ल्याउने कुरामा दुई तिहाई मत प्राप्त हुन्छ ?
– म निर्विकल्प देख्छु । धेरै जिल्लाका सासंदहरुसँग छलफल भइसकेको छ । सबै सकारात्मक हुनुहुन्छ । सबैको सल्लाहमा प्रदेश संसदमा प्रस्ताव दर्ता गरेका हौं ।

० त्यसो भए प्रदेशको राजधानी बनेपामा सर्छ ?
कुनै हिसाबले पनि हेटौंडा प्रदेश राजधानी हुन सक्दैन । हेटौंडालाई ३ नम्बर प्रदेशको राजधानी बनाउने पश्चगामी निर्णयलाई जनताले जिताएर पठाएका प्रतिनिधिहरुले संसदबाट सच्याउनेछन् । त्यो निर्णय अन्तिम हुनेछ । संसदमा छलफल हुन्छ र निर्णय हुन्छ । यसअघिको कामचलाउ सरकारले अस्थायी सदरमुकाम तोकेको हो, स्थायी त होइन । हेटौंडालाई प्रदेश राजधानी स्थायी बनाउन पनि त संसदको दुई तिहाई मत चाहिन्छ । कि हेटौंडाले दुई तिहाई पु¥याएर त्यहीँ राख्नुप¥यो । दुई तिहाई अन्त पुग्छ भने अन्त जान्छ राजधानी । यो कानुनी प्रक्रिया हो ।

० प्रदेशको नाम के राख्दै हुनुहुन्छ ?
प्रदेशको २–३ वटा नामका बिषयमा छलफल चलिरहेको छ । ब्यक्तिगत हिसाबले भन्नुपर्दा सभ्यताका हिसाबले बागमती प्रदेश राख्नुपर्छ भन्ने मेरो राय छ । राजधानी प्रदेश, गौरीशंकर, नेपाल मण्डल राख्नुपर्छ भन्ने राय पनि सांसदहरुबाट आएका छन् । नामको बिषयमा ब्यापक छलफल गर्नुपर्छ भन्ने पक्षमा छैनौं । नामले मात्र केही हुने हैन । तर ऐतिहासिकता, सभ्यताका हिसाबले वा सबैलाई स्वीकार्य हुने हिसाबले बागमती प्रदेश हुन्छ भन्ने मेरो राय छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७